प्रकृतिले प्राणीलाई जीवन र जीवन बचाइराख्ने प्राणवायु तथा अनेकौँ प्रकारका खाद्यपदार्थहरू पनि निःशुल्क दिएको छ । तर भर्खर जन्मेको शिशुले प्रकृतिका कुनै पनि वस्तुहरू खान र पचाउन नसक्ने अवस्थामा हुने हुनाले प्रकृतिले खाद्यवस्तुहरूको सारतत्त्व र उपयुक्त खाद्यवस्तु आमाको स्तनबाट दिएको हुन्छ ।
आमाको दूध शिशुको विकासात्मक आवश्यकताअनुरूप हुन्छ । जति मात्रामा शिशुलाई प्रोटिन, भिटामिन तथा खनिजको आवश्यकता हुन्छ, त्यत्ति नै मात्रा आमाको दूधमा रहेको हुन्छ ।
स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू:
• स्तनपान गराउनु अघि–पछि स्तन सफा गर्नुपर्छ र हात धुनुपर्दछ । सफा र खुकुलो लुगा लगाउनुपर्दछ ।
• आमाले स्तनलाई C (अङ्ग्रेजी अक्षरको C आकार) मा समात्नुपर्दछ । बुढी औँला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि र अन्य औँलाहरू स्तनको तलपट्टि हुनुपर्छ ।
• शिशुलाई काखमा राखी शिशुको ढाड र टाउकोलाई अर्को हातले अलिकति उठाएर दूध चुसाउनुपर्दछ ।
• दूध चुसाउनु अघि शिशुलाई स्तनमा ओठ वा हातले चलाउन उत्प्रेरित गर्नुपर्छ, जसले गर्दा दूध पग्रन्छ र शिशुले दूध चुस्न धेरै मिहिनेत गर्नु पर्दैन ।
• स्तनपान गराउँदा एक पटकमा एकातिरको दूध पूर्ण रूपमा खाली हुने गरी खुवाउनुपर्छ । अर्को पटक अर्कोतिरको स्तनबाट खुवाउनुपर्दछ, जसले गर्दा पूर्ण स्तनपान हुन्छ । दुवैतिरबाट आधा–आधा खुवाउँदा दूधमा भएको पानीको मात्रा मात्र शिशुले खाने भएकाले आवश्यक पूर्ण पोषण पाउन सक्दैन ।
• शिशुले जति दूध चुस्छ, त्यति नै बढी प्रोलाक्टिन हर्मोन निष्कासन भई दूध उत्पादन बढ्छ ।
• दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्युँमा मुसार्दै डकार लगाउनुपर्छ । यसले गर्दा शिशुले वान्ता गर्दैन ।
• सुत्केरी आमाले ज्वानो (अजवाइन) को झोलसहित थप पोषिलो खाना—जस्तै दाल, गेडागुडी, दूध तथा अन्य तरल खानेकुरा—बढी खानुपर्छ ।
• सुत्केरी भएको ४२ दिनभित्र भिटामिन ‘ए’ क्याप्सुल एक मात्रा खानुपर्छ । यो नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकाबाट निःशुल्क उपलब्ध हुन्छ ।
• सुत्केरी भएको ४५ दिनसम्म नियमित रूपमा आइरन–फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन प्रयोग गरिएको खाना खानुपर्दछ ।
• दूध नआउने, बच्चाले दूध खान नमान्ने, वा स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्पर्क गर्नुपर्दछ ।
• शिशु बिरामी भए पनि बारम्बार दूध खुवाउनुपर्छ । शिशुले आमाको दूध खाने प्रयास नै नगरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।
• स्तनपान गराउँदा आमाले शिशुतिर हेर्ने, मुस्कुराउने, बोल्ने र गीत गुनगुनाउने गर्नुपर्दछ ।
• एचआइभी सङ्क्रमित आमाले स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुपर्छ । सङ्क्रमित आमाले पनि छ महिनासम्म शिशुलाई मात्र स्तनपान गराउनुपर्छ । त्यसपछि आमाको दूधसँगै पूरक खाना दिनुपर्छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्छ ।
• एचआइभी सङ्क्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान गराउनु हुँदैन । नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सल्लाह लिनुपर्दछ ।
शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरूसँग लड्ने तथा गर्भभन्दा फरक वातावरणमा समायोजन हुने शक्ति बिगौती दूधमा हुन्छ । शिशुको पेटको आकार बढेसँगै आमाको दूधको मात्रा पनि बढ्दै जान्छ । जब शिशु विस्तारै अन्य खाना खान र पचाउन सक्ने अवस्थामा पुग्छ, आमाको दूध पनि क्रमशः घट्दै जान्छ । त्यसैले आमाको दूध शिशुको लागि प्रकृतिको उपयुक्त योजना र अमूल्य उपहार हो । आमाको दूधजस्तो खाना कुनै पनि मूल्यमा कहीँ पनि किन्न पाइँदैन । आमाको दूध अमृत समान हो ।
आमाको दूधका विशेषताहरू:
🤱 आमाको दूधमा रोगहरूसँग लड्ने इम्युनोग्लोब्युलिन (Immunoglobulin) जस्ता सबै पोषक तत्त्वहरू सन्तुलित मात्रामा पाइन्छन्, जुन अन्य कुनै पनि दूधमा पाइँदैन ।
🤱 आमाको दूधमा शिशुलाई आवश्यक सम्पूर्ण पोषक तत्त्व र पानीको मात्रा समेत हुन्छ ।
🤱 आमाको दूध सुरक्षित हुन्छ र यसमा रोगका कीटाणुहरूले आक्रमण गर्न पाउँदैनन्, किनकि यो सधैँ आमाको स्तनबाट सिधै शिशुको मुखमा जान्छ ।
🤱 शिशुलाई भोक लागेको आमालाई महसुस हुनासाथ आमाको शरीरबाट अक्सिटोसिन हर्मोन निस्केर दूध आफैँ बग्न थाल्छ ।
🤱 स्तनपानले शिशुलाई काखमा बस्न र रमाउन पाउने अवसर दिने भएकाले आमा–शिशुबिच बलियो सम्बन्ध स्थापित हुन्छ । यसले शिशुको बौद्धिक विकासमा पनि सहयोग गर्छ ।
🤱 आमाको दूध धेरै वा थोरै निस्कनुमा सुत्केरी स्याहारको ठूलो प्रभाव हुन्छ । आमाको सकारात्मक सोच, पोषण र आरामले दूध प्रशस्त उत्पादन हुन्छ ।
स्तनपानका लागि आमाको तत्परता:
शिशुको आवश्यकताअनुसार एक दिनमा १०–१२ पटक (२४ घण्टामा दिन र रात) स्तनपान गराउनुपर्दछ । आमाको दूधमा सम्पूर्ण पोषक तत्त्व हुने भएकाले जन्मेदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्छ । आमाको दूधमै आवश्यक पानीको मात्रा हुने भएकाले अतिरिक्त पानी खुवाउनुपर्दैन । ६ महिना पूरा भएपछि पूरक खानासँगै कम्तीमा दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्छ ।
सुत्केरी आमाले साविकभन्दा थप दुई पटक पोषिलो खाना खाएमा दूध निरन्तर आउने र आफू पनि स्वस्थ रहन सहयोग गर्छ । सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना—अन्न, गेडागुडी, हरिया सागसब्जी, फलफूल तथा पशुपन्छीजन्य खानेकुरा—खानुपर्छ । गाह्रो काम, अत्यधिक चिन्ता, धूमपान तथा मद्यपान गर्नु हुँदैन ।
स्तनपान गराउँदा शिशुसँग कुराकानी गर्ने, गीत सुनाउने र मुस्कुराउने गरेमा शिशुमा सकारात्मक संवेगको विकास हुन्छ । स्तनपानका बेला आमाले खुसी हुँदै, हाँस्दै र रमाउँदै खुवाउँदा शिशु पनि खुसी हुन्छ र दूध प्रशस्त आउन सजिलो हुन्छ ।
स्तनपान गराउने उपयुक्त आसन तथा सम्पर्क:
• बालबालिकाको शरीर र मुख आमाको स्तनतिर फर्किएको हुनुपर्दछ ।
• बालबालिका आमासँग टाँसिएको हुनुपर्दछ ।
• आमाले बालबालिकाको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्छ ।
• बालबालिकाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।
• स्तनको कालो भाग बालबालिकाको मुखभित्र राम्ररी पसेको हुनुपर्छ ।
• बालबालिकाको तल्लो ओठ बाहिर फर्किएको र मुख राम्रोसँग खुलेको हुनुपर्छ ।
स्तनपानबाट शिशु र आमामा हुने फाइदाहरू:
शिशुमा हुने फाइदाहरू:
• शिशुको मृत्यु हुने जोखिम कम हुन्छ ।
• रोगप्रतिरोधात्मक क्षमता उच्च हुन्छ ।
• बिरामी पर्दा छिटो निको हुन्छ ।
• संवेग व्यवस्थापन क्षमता राम्रो हुन्छ र मानसिक समस्या कम हुन्छ ।
• बौद्धिक परीक्षणमा उच्च क्षमता देखिन्छ ।
• विद्यालयीय सिकाइ दर राम्रो हुन्छ ।
• भविष्यमा मुटुरोग, मधुमेह, क्यान्सर, दमजस्ता रोगहरूको जोखिम कम हुन्छ । दाँतसम्बन्धी समस्या पनि कम देखिन्छ ।
आमामा हुने फाइदाहरू:
• पाठेघर र स्तन क्यान्सरको जोखिम कम हुन्छ ।
• आराम र आनन्दको अनुभूति भई मानसिक तनाव घट्छ ।
• शिशुसँग सकारात्मक सम्बन्ध बनेको सन्तुष्टि मिल्छ ।
स्तनपानमा घरपरिवारको भूमिका:
शिशुले जन्मेदेखि छ महिनासम्म पूर्ण स्तनपान पाउनु उसको अधिकार हो । यो अधिकार सुनिश्चित गर्न परिवार र राज्य दुवैको भूमिका हुन्छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री–वितरण) सम्बन्धी ऐन, २०४९ अनुसार आमाको दूधको विकल्पमा अन्य दूध बेचविखन गर्न पाइँदैन ।
• बिगौती दूध शिशुका लागि खोपसरह हो । त्यसैले जन्मनासाथ जतिसक्दो छिटो बिगौती दूध खुवाउनुपर्छ ।
• सुत्केरीलाई आराम दिलाउन परिवारको ठूलो भूमिका हुन्छ । विशेषगरी श्रीमान्ले काममा सघाउने, माया, विश्वास र आराम दिनुपर्छ ।
• ६ महिनासम्म आमाको दूध मात्र र त्यसपछि कम्तीमा दुई वर्षसम्म आमाको दूधसँगै पूरक खाना खुवाउन सहयोग गर्नुपर्छ ।
• आमालाई दैनिक पाँच किसिमका खाना अन्य अवस्थाभन्दा थप दुई पटक खुवाउनुपर्छ ।
( जोशी जयपृथ्वी नगरपालिका चैनपुर बझाङ्गमा जनस्वास्थ्य अधिकृतका रुपमा कार्यरत छिन्)