काठमाडौं - लेर्डल ग्लोबल हेल्थ नर्वेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ वटा इमरजेन्सी केयर लर्निङ ल्याब र २ वटा लेर्डल एएलएस बेबी टे्रनर किट उपलब्ध गराएको छ।
आपतकालीन उपचार तालिमलाई सुदृढ पार्ने उद्देश्यले लेर्डल ग्लोबल हेल्थले मन्त्रालयलाई उक्त किट उपलब्ध गराएको हो। यी किटहरु राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र तथा सातै प्रदेशका स्वास्थ्य तालिम केन्द्रहरुमा वितरण गरिने मन्त्रालयले जनाएको छ।
उक्त किटले आधारभूत इमरजेन्सी केयर र अस्पताल पूर्व तालिमलाई प्रभावकारी बनाउने मन्त्रालयले जनाएको छ। प्रारम्भिक परीक्षणमा यी किटहरु सफल भएको र यसले स्वास्थ्यकर्मीहरुलाई जीवन सहायता सीपहरु अभ्यास गर्न व्यावहारिक अवसर प्रदान गरेको छ।
दिगो र सुदृढ आपतकालीन उपचार प्रणाली निर्माण तर्फ यसले महत्वपूर्ण योगदान पुर्याउने मन्त्रालयको अपेक्षा छ। सरकार तथा साझेदार संस्थाहरुको सहकार्यले देशभर आपतकालीन उपचार तालिमको पहुँच र गुणस्तरमा सुधार ल्याउने मन्त्रालयको विश्वास छ।