काठमाडौं - आज ‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने नारा सहित ११ औँ राष्ट्रिय योग दिवस देशभर मनाइँदैछ।
स्वास्थ्य सेवा विभाग आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुको सहकार्यमा यस वर्षको योग दिवस देशव्यापी रुपमा मनाउन लागिएको शाखाका महानिर्देशक डा श्याम बाबु यादवले बताए।
सरकारले प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यस वर्ष पनि संघीय, प्रदेश र स्थानीय स्तरमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर यो दिवस मनाउन लागिएको उनले जानकारी दिए। दिवसमा मुख्य कार्यक्रमका रूपमा प्रभातफेरी तथा मूल समारोह, योग शिविरहरू, अन्तरक्रिया तथा प्रवचन तथा विद्यालय स्तरमा चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
यो केवल व्यायाम मात्र नभई जीवन जिउने कला र विधि पनि भएको जानकारी गराउनका लागि दिवसले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने डा यादवको दाबी छ। पछिल्लो समय नेपालमा नसर्ने रोगको भार बढ्दै जाँदा मानसिक रुपमा स्वस्थ रहन तथा रोग प्रतिरोधी क्षमता बढाउनका लागि योग महत्वपूर्ण रहेको उनको भनाई थियो।
हाल विभागले योगलाई नागरिकको जीवन पद्धति बनाउने उद्देश्यका साथ विद्यालय आयुर्वेद तथा योग कार्यक्रम तथा नागरिक आरोग्य सेवा केन्द्रलाई विशेष प्राथमिकतामा राखेर सेवा विस्तार गरिरहेको डा यादवले जानकारी दिए।