काठमाडौं - अनसनरत स्वास्थ्यकर्मीहरुको माग सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले आन्दोलनरत पक्षहरुसँग छलफलका लागि वार्ता समिति गठन गरेको हो। समितिमा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, महाशाखा प्रमुख डा भीम प्रसाद सापकोटा र अस्पताल नर्सिङ प्रशासक नुजन शर्मा रहेका छन्।
विभिन्न मागहरु राख्दै पाँच स्वास्थ्य संगठनको संघर्ष समितिको तर्फबाट नेपाल सिएमए संघका केन्द्रीय सदस्य गोपाल उपाध्यायले माघ १ गतेदेखि आमरण अनसन सुरु गरेका छन्। आफ्ना मागहरु सुनुवाई नभएको भन्दै उनले काठमाडौंको सिफचौरबाट अनसन सुरु गरेका हुन्।
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघ नेपालको तर्फबाट उनको नेतृत्वमा आमरण अनसन सुरु भएको हो।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् लामो समयदेखि कानुनी, संरचनागत र प्रतिनिधित्वसम्बन्धी गम्भीर समस्यामा अल्झिएको भन्दै विभिन्न उनीहरुले यसअघि आन्दोलनको चेतावनी दिएका थिए।
परिषद् ऐन २०५३ जारी भएको झण्डै तीन दशक बितिसक्दा पनि ऐनको दफा ४ (२) अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसकेको, समयमै पदाधिकारी नियुक्ति नगरिएको र सबै पेशागत समूहको समावेशी प्रतिनिधित्व सुनिश्चित हुन नसकेको उनीहरूको गुनासो छ।
परिषद्मा आवश्यक सदस्य संख्या नपुग्दा दर्ता, नवीकरण, निरन्तर पेशागत विकास, अनुशासनात्मक कारबाही तथा नियमनजस्ता नियमित कामहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनीहरुको भनाई छ।