काठमाडौं - हामी कहिले रुन्छौ ? जब हामी उदास हुन्छौ, रिसाउँछौं वा अत्यन्तै खुसी हुन्छौ।
तर के तपाईलाई थाहा छ ? मानिसको आँखाबाट मात्र यस्तो आँसु आउँछ, जुन भावनासँग जोडिएको हुन्छ।
धेरै जनावरहरू रोएजस्तै आवाज निकाल्छन् र यसले कुनै तनाव वा समस्याको संकेत दिन्छ। तर उनीहरूको दिमागमा यस्तो कुनै प्रणाली हुँदैन, जसले भावनासँग जोडिएका आँसु निकाल्न सकोस्।
वैज्ञानिकहरूलाई आँसु किन आउँछन् भन्ने कुरा त थाहा छ। तर मानिस किन रुन्छन् वा मानिसमा भावनासँग सम्बन्धित आँसु किन आउँछन् भन्ने विषय भने अहिलेसम्म पूर्ण रूपमा स्पष्ट भइसकेको छैन।
आँसु आउने कारण के हुन्छ ?
स्वीजरल्याण्डको इन्स्टीच्युट अफ ह्युमन बायोलोजीमा पोस्टडाक्टरल फेलो डा म्यारी बैनियर हेलाउएट भन्छिन्, ‘आँसु पाँच कम्पोनेन्टबाट बनेको हुन्छ, कफ, इलेक्ट्रोलाइट्स, पानी, प्रोटिन र लिपिड।’
यी सबैको फरक फरक प्रोपटिज हुने उनले बताइन्। उदाहरणका लागि प्रोटिन एन्टीवायरल र एन्टीब्याक्टेरियल हुन्छ, जबकी इलेक्ट्रोलाइट्स शरीरको कामसँग जोडिएको जरुरी मिनरल्स हुन्छ। र, आँसु तीन प्रकारका हुन्छन्।
उनी भन्छिन्, बेसल टियर ती आँसु हुन्छन्, जो हाम्रो आँखाको तल्लो सतहमा रहन्छन्। यसले आँखालाई ओसिलो बनाईराख्छन्।रिफ्लेक्स टियर्स तब आफैँ बहन थाल्छ, जब कुनै कीरा या धूलोका कण हाम्रो आँखामा पस्दछ। आँखाको कर्नियामा रहेका स्नायु कोशिकाहरूले यसलाई महसुस गर्छन्। तिनको तहले हाम्रो आँखालाई धूलो माटोबाट जोगाउने काम गर्छ।
ब्यानर हेलाउएटका अनुसार ‘कर्नियामा शरीरका अन्य भागको तुलनामा सबैभन्दा धेरै स्नायु कोशिकाहरू पाईन्छन्। यी कोशिकाहरूले तापक्रम, यान्त्रिक दबाब र सुक्खापन महसुस गर्न सक्छन्।’ स्नायु कोशिकाहरूबाट सन्देश पुग्ने स्थानलाई लैक्रिमल न्युक्लियस भनिन्छ। यसले आँसुको स्रावलाई नियन्त्रण गर्ने काम गर्छ।
भावनाका कारण निस्कने आँसु
तेस्रो प्रकारका आँसु ती हुन्, जो भावनाका कारण निस्कन्छन्, र यसैका कारण कुराहरू सबैभन्दा जटिल बनिदिन्छन्। हाम्रो मस्तिष्कमा भावनालाई प्रक्रियागत गर्ने भागहरूले पनि लैक्रिमल न्युक्लियससँग संवाद गर्छन्। तर यो प्रक्रिया धेरै जटिल हुन्छ।
नेदरल्यान्ड्सको टिलबर्ग विश्वविद्यालयका मनोविज्ञान विभागका अवकाश प्राप्त प्राध्यापक एड विंगरहोएट्सका अनुसार रुनु कुनै एक मात्र भावनाको अभिव्यक्ति होइन, बरु भावनाहरूको अत्यधिक बोझको संकेत हो।
उनी भन्छन्, ‘भावनाहरू प्रायः स्पष्ट रूपमा छुट्याएर बुझ्न सकिँदैन। यी छिटो–छिटो परिवर्तन हुन्छन् र धेरै भावनाहरू एकै साथ जम्मा हुन्छन्।’
उमेर बढ्दै जाँदा भावनात्मक रूपमा रुनुका कारण पनि बदलिँदै जान्छन्। शारीरिक पीडा बालबालिकामा रुनुको मुख्य कारण हुन्छ, तर वयस्क र वृद्ध अवस्थामा यो कम देखिने उनी बताउँछन्। उमेरसँगै रुनु सहानुभूतिसँग जोडिन थाल्छ। हामी केवल आफ्नै पीडामा मात्र होइन, अरूको दुःखले पनि हामीलाई रुन बाध्य बनाउँछ।
रोएपछि के साँच्चै राहत मिल्छ ?
कतिपय मानिसले रोएपछि राहत मिल्ने बताउँछन्। तर के वास्तवमै यस्तो हुन्छ त ? यस माथिको बहस जारी छ। अमेरिकाको पिटर्सबर्ग युनिभर्सिटीका एशोसिएट प्रोफेसर लरेन बाइल्स्मा हर्ट रेटलाई मनिटर गरेर पत्ता लगाउने कोशिस गरिरहेका छन् की के रोएपछि मानिसहरु हल्का महसुस गर्छन् ?
इलेक्ट्रोकार्डियोग्राम हाम्रो मुटुको धड्कनलाई रेकर्ड गर्दछ, जसमा हाम्रो कोशिकाहरुले कसरी काम गर्दछ भन्ने बुझ्नमा मद्दत मिल्दछ। उनका प्रारम्भिक नतिजाले देखाउँछ कि रुनु ठीक अघि प्रतिक्रिया दिन जिम्मेवार हाम्रो सिम्पेथेटिक नर्भस सिस्टमको गतिविधि उच्चतम स्तरमा पुग्छ।
उनी भन्छिन्, ‘जति बेला रुन सुरु हुन्छ, त्यही बेला प्यारासिम्पेथेटिक गतिविधिमा वृद्धि देखिन्छ। यो हाम्रो स्नायु प्रणालीको त्यस्तो शाखा हो, जसले हामीलाई शान्त हुन र आराम गर्न मद्दत गर्छ।’
तर विंगरहोएट्सका अनुसार रुनुले सधैं राम्रो महसुस गराउँछ भन्ने हुँदैन। विशेषगरी हामी डिप्रेशन वा तनावमा हुँदा। उनी भन्छन्, ‘यो हामी किन रोइरहेका छौं भन्ने कुरामा पनि निर्भर गर्छ। हामी सामान्यतया ती अवस्थाहरूमा रोएपछि राम्रो महसुस गर्छौं, जसमा हाम्रो नियन्त्रण हुन्छ। तर जसमा हाम्रो नियन्त्रण हुँदैन, त्यस्ता अवस्थामा रोएर राहत मिल्दैन।’ हाम्रो वरिपरिका मानिसहरूले पनि यसमा ठूलो फरक पार्ने उनी बताउँछन्।
सामाजिक संकेत
इजरायलको एक प्रयोगशालामा गरिएको अध्ययनले देखाएको छ कि जुन पुरुषले महिलाको भावनात्मक आँसुको गन्ध सुन्थे, उनीहरू परीक्षणको क्रममा ती पुरुषभन्दा कम आक्रामक थिए। जसले खारो पानीको घोलको गन्ध सुँघेका थिए।
अनुसन्धानकर्ताहरू यसमा सहमत छन् कि आँसु एक सामाजिक संकेतको रूपमा काम गर्छ, जसले देखाउँछ कि हामीलाई मद्दत चाहिन्छ। यसले अरूलाई सहयोग गर्न प्रेरित पनि गर्छ। विंगरहोएट्सको मान्यता अनुसार मानिसमा आँसुको विकास सम्भवतः हाम्रो बाल्यकाल लामो हुने कारण भएको हो, जसमा हामी आफ्ना अभिभावकमा निर्भर रहन्छौं।
केही मानिस किन धेरै रुन्छन् ?
बाइल्स्माका अनुसार पुरुष औसतमा महिनामा शून्यदेखि एक पटक रुन्छन्। जबकी महिलाहरु चारदेखि पाँच पटकसम्म रुने गर्छन्। यद्यपि यो कुरा पनि पुरै तरिकाबाट सही नभएको उनी बताउँछन्। सामान्यतया महिलाहरु भावनात्मक रुपमा अधिक प्रतिक्रियाशील हुन्छन्। यसमा कोशिकासम्बन्धी अन्तर, हर्मोनल र व्यक्तित्वसम्बन्धी अन्तर हुन सक्ने उनले बताए।
महिनावारीको समयमा हर्मोनल परिवर्तनका कारण महिलाको रुवाईलाई प्रभावित पार्ने करामा कुनै ठोस प्रमाण नभएको उनी बताउँछिन्। तर यसमा हर्मोनल भूमिका भने रहेको उनले बताइन्। किनभने पुरुष र महिलाको शारीरिक संरचना फरक हुन्छन्। गर्भावस्था र बढ्दो उमेरले पनि यसमा योगदान पुर्याउँछ। रुनु न्यूरोटिक या एक्सट्रोवर्ट व्यक्तित्वसँग जोडिएको उनले आफ्नो रिसर्चमा पाएकी छिन्।
उनी भन्छिन्, ‘न्यूरोटिक स्वभाव डिप्रेशन र चिन्तासँग सम्बन्धित छ। सायद यसैकारण हामीलाई यसको सम्बन्ध देखिन्छ।’
जुन मानिसमा सहानुभूती अधिक हुन्छन्, उनीहरुमा रुने संभावना पनि अधिक हुने उनले बताइन। त्यसैले उनीहरु अरुको दुख र कठिनाई देख्दा प्रतिक्रियाको रुपमा रुने गर्दछन्।
- बीबीसी हिन्दीबाट साभार