काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको कार्यप्रगति सार्वजनिक गरेकी छिन्। २०८२ कातिृक १० गते पदबहाली गरेकी मन्त्रीले तीन महिनामा आफ्नो नेतृत्वमा भएका कार्यप्रगति सार्वजनिक गरेकी हुन्।
उनल जेनजी घाइतेहरुको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बीमा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन्।
जेनजी प्रदर्शनका घाइतेहरुको वर्गाीकरण सम्बन्धी कार्यविधि निर्माण गरी हालसम्म १८९ जना घाइतहरुको वर्गाीकरण गृह मन्त्रालयमा पठाइएको, घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको, शहिद परिवारका लागि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न स्रोतका लागि अर्थ मन्त्रालयमा पठाइएको कार्यप्रगतिमा उल्लेख छ।
स्वास्थ्य बीमा, स्वास्थ्य सेवा, औषधि ऐन, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान एन र स्वास्थ्यकर्मी सुरक्षा ऐन अध्यादेश मार्फत संशोधनका लागि प्रक्रिया अघि बढाइएको मन्त्री गौतमले बताएकी छिन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा वर्षौदेखि रिक्त रहेका सदस्यहरुको नियुक्ति प्रक्रिया अघि बढाइएको, मातृ मृत्यु सर्वेक्षणमा उच्च मातृ मृत्युदर रहेका लुम्बिनी, कर्णाली, गण्डकी र मधेश प्रदेशमा मातृ मृत्युदर कम गर्न विशेष ध्यान दिइएको लगायत उपलब्धि उल्लेख छन्।
आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छिन्।
हेर्नुहोस्, मन्त्री गौतमले सार्वजनिक गरेको कार्यप्रगति विवरण :