काठमाडौं - सर्लाहीको मलंगवा नगरपालिकामा दादुरा संक्रमण फैलिएको छ। वडा नं ३ मा हालसम्म ७ जनामा दादुरा संक्रमण पुष्टि भएको परिवार कल्याण महाशाखाले जनाएको छ।
कुल १६ शंकास्पद बिरामीमध्ये प्रयोगशाला परीक्षणका क्रममा १० देखि १४ वर्ष उमेरका ७ जनामा दादुरा संक्रमण पुष्टि भएको हो।संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र साझेदारसँग समन्वय गर्दै घर घरमा खोजपड्ताल तथा निगरानी गरिरहेको छ।
मलंगवा नगरपालिकाको वडा नं ३ सहित २, ४, ८ र ९ का ६ महिनादेखि १४ वर्ष उमेरका बालबालिकालाई माघ १२ गतेदेखि खोप दिन लागिएको महाशाखाले जनाएको छ।
पुस २२ गते पहिलो पटक शंकास्पद बिरामी भेटिएको थियो। प्रयोगशाला परीक्षणका त्रममा माघ ११ मा दादुरा पुष्टि भएको हो।