काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल/डेन्टल कलेज तथा अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिएको छ।
नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधाहरु सम्बन्धी भएका सहमति कार्यान्वयन गर्न निजी मेडिकल/डेन्टल कलेज तथा सामुदायिक अस्पताललाई निर्देशन दिएको हो।
उक्त मागका विषयमा कार्तिक १५ गते भएको सम्झौता र सोको कार्यान्वयनका लागि मन्त्रालयले मंसिर १५ गते नै पत्राचार गरिसकेको छ।
उक्त सम्झौतामा नर्स र स्वास्थ्यकर्मी उल्लेख भएपनि स्वास्थ्यकर्मी भन्नाले ल्याब, डेन्टल, सामान्या चिकित्सा, फार्मेसी, रेडियालोजी, जनस्वास्थ्यकर्मी लगायत सेवा समूहका जनशत्ति पर्ने मन्त्रालयले जनाएको छ।
अस्पतालमा कार्यरत सबै विद्याका स्वास्थ्यकर्मीले सम्झौता बमोजिम न्यूनतम पारिश्रमिक नपाएको गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्यकर्मीहरुबाट उक्त गुनासो आएकाले सम्झौता बमोजिम न्यूनतम पारिश्रमिक सम्बन्धी बुँदा कार्यान्वयन गर्न गराउन मन्त्रालयले सबै निजी मेडिकल कलेज तथा अस्पताललाई निर्देशन दिएको हो।