काठमाडौं - हालै मात्र स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा पुनः सेवा सुरु गर्न सरकारले कसरत सुरु गरेको छ।
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु गर्ने विषयमा स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशकले अस्पतालका प्रमुखसँग छलफल थालेका छन्।
स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल, अस्पतालका कार्यकारी निर्देशक प्राडा सुभास आचाय, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणी गजुरेलबीच बीमा पुनः सुरु गर्ने विषयमा छलफल भएको हो।
सेवा दिएबापत बीमा बोर्डले भुक्तानी रकम दिन नसकेको भन्दै बीमा कार्यक्रम बन्द गरेको त्रिवि शिक्षण अस्पताल पुनः सेवा सुरु गर्ने विषयमा सकारात्मक देखिएको छ।
छलफलका क्रममा स्वास्थ्य बीमाका नीतिगत सुधार, वैज्ञानिक दाबी मूल्यांकन प्रणालीको सुदृढीकरण, आपसी समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाइने विषय उठेको थियो। अस्पतालबाट उठाइएका विषयहरुमा विज्ञहरुबीच थप परामर्श गरी यथाशिघ्र स्वास्थ्य बीमा सेवा सुरु गर्ने विषयमा साझा प्रतिवदता आएको बीमा बोर्डले जनाएको छ।
त्रिवि शिक्षण अस्पताललाई बीमा बोर्डले ४० करोड भुक्तानी दिन बाँकी छ। लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगर्दा आर्थिक अवस्था कमजोर बन्न पुगेको भन्दै माघ १ गतेबाट अस्पतालले बीमा कार्यक्रम बन्द गरेको थियो।
हालै मात्र बोर्डको निमित्त कार्यकारी निर्देशकमा नियुक्त भएका डा पौडेलले बीमा कार्यक्रमलाई अघि बढाउन र पुनः सुरु गर्न अस्पतालहरुसँग छलफल गर्ने बताएका थिए।