काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। गत माघ ५ गते जनकपुरमा भएको सभाका क्रममा खुट्टामा लागेको चोटले दु:ख दिएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
रविको सचिवालयका अनुसार सुरुमा सामान्य देखिएको चोट बढ्दै गएर हाल छालाको भित्री तहमा संक्रमण भएको छ। अस्पतालका चिकित्सकहरूको परीक्षण र सल्लाहअनुसार भर्ना गरिएको सचिवालयको भनाइ छ। केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार गराउनुपर्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
‘चोट आफैँमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ’ सचिवालयले भनेको छ।
अन्य बिरामीको उपचारमा असर नपरेर र अस्पताल प्रशासनलाई असहज नहोस् भनेर भेटघाटका लागि अस्पताल नआइदिन रविका स्वकीय सचिव अविनाश आचार्यले अनुरोध गरेका छन्। जनकपुरको सभामा भाग लिएर चितवन आएदेखि रवि एकाएक गुमनाम बनेका थिए।