काठमाडौं - सर्लाहीको मलंगवामा सोमबारदेखि सुरु भएको दादुरा विरुद्धको खोप अभियानमा साढे ३ हजार बालबालिकालाई खोप लगाइएको छ।
सोमबार र मंगलबार गरी ३ हजार ५४५ बालबालिकालाई खोप लगाइएको मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए। अभियानमा वडा नं २, ३, ४, ८, ९ र १० गरी ६ वटा वडाका ६ महिनादेखि १५ वर्षसम्मका ७ हजार ५१९ बालबालिकालाई खोप लगाइने उनले बताए।
दुई दिनमा वडा नं २ मा ६१२, ३ मा ७५४, ४ मा ५९६, ८ मा ४१३, ९ मा ३५५ र १० मा ८१५ गरी ३ हजार ५४५ जना बालबालिकालाई खोप लगाइएको छ।
हालसम्म ७ जनामा मात्र दादुरा संक्रमण पुष्टि भएको छ। पुस २२ गते पहिलो बिरामी भेटिएकोमा २५ गते प्रयोगशालाबाट संक्रमण पुष्टि भएको थियो।
वडा नं ३ र ४ प्रभावित भएपनि हालसम्म कुने पनि बिरामी अस्पताल भर्ना र मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ।
संक्रमण थप फैलिन नदिन शंकास्पद बिरामीको खोज पड्ताल तथा निगरानी गर्ने काम भइरहेको छ। खोप अभियानमा आफ्ना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ।