काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ।
अचानक बेहोस भएर उपचारका लागि काठमाडौं ल्याइएको सिटौलाको आज १२ बजेर ४५ मिनेटमा ग्राण्डी इन्टरनेशन अस्पतालमा निधन भएको हो। उनको स्ट्रोकका कारण निधन भएको अस्पतालले जनाएको छ।
अचानक बेहोर भएर लडेका सिटौलालाई तत्कालै उपचारका लागि अछामस्थित जिल्ला अस्पतालमा लगिएको थियो। जिल्ला अस्पताल लैजादा उनको श्वासप्रश्वास थिएन। कार्डियोपल्मोनगरी रेससिटेशन (सिपीआर) गरेको ४५ मिनेटपछि मुटुको चाल फर्किएको थियो। थप उपचारका लागि उनलाई भेन्टिलेटरमा राखेर ग्राण्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।
उनलाई गम्भीर सबअरेनहाइड हेमोरेजको लागि स्थापित प्रोटोकल अनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमद्वारा संयुक्त रुपमा आइसीयूमा निगरानीमा राखिएको अस्पतालले जनाएको छ।
आइसीयूमै रहँदा उनलाई डायबिटिज इन्सिपिडसको समस्या देखिएपनि व्यवस्थापन गरिएको थियो। अस्पताल भर्ना भएको ४८ घण्टापछि पनि न्यूरोलोजिकल अवस्था र मस्तिष्कको कार्यक्षमतामा कुनै सुधार नदेखिएको अस्पतालले जनाएको छ।
मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्नेनिया परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। यसले स्वतः श्वासप्रश्वास नभएको जनाउने अस्पतालले जनाएको छ। विशेष निगरानीका साथ उपचार गरिएपनि उनलाई बचाउन नसकिएको भन्दै अस्पतालले दुख समेत व्यक्त गरेको छ।