काठमाडौं - सर्लाहीको मलंगवामा १० हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको छ। १७ गते सम्पन्न भएको अभियानमा ६ महिनादेखि १५ वर्षसम्मका १० हजार ३२ जना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको हो।
वडा नं २, ३, ४, ८, ९ र १० गरी ६ वटा वडामा खोप अभियान ६ दिनसम्म सञ्चालन भएको थियो। अभियानमा १३३ प्रतिशत खोप कभरेज भएको मलगंवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए।
वडा नं २ मा १ हजार २७६, ३ मा २ हजार ५७३, ४ मा १ हजार २१७, ८ मा १ हजा ५४९, ९ मा ९९५ र १० मा २ हजार ४१३ जना बालबालिकालाई खोप लगाइएको छ। ६ महिनादेखि ५ वर्षसम्मका १ हजार ५ र ५ देखि १५ वर्षसम्मका ७ हजार ७१० जना बालबालिका छन्।
पाँचौ दिनसम्म विद्यालय र मदरसामा सञ्चालन भएको अभियान छैटौँ दिनमा भने घर-घर र गाउँ-गाउँमा गएर खोप लगाइएको साहले बताए।
उनले भने, ‘खोप अभियान ५ दिनको मात्र थियो। ६ वटा वडामा ६ वटा केन्द्र सञ्चालन गरेर खोप लगाइएको हो। तर कोही बालबालिका लगाउन छुटेका छन् की भनेर एक दिन थप गरी हामीले गाउँ गाउँमा खोज्दै खोप लगायौँ।’
मलंगवाको वडा नं ३ र ४ मा फैलिएको दादुरा हाल भने नियन्त्रणमा रहेको उनले जानकारी दिए। ७ जनामा देखिएको दादुराको संक्रमणलाई बढ्न नदिइएको उनले बताए।