काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्न अनुरोध गरेको छ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपालमा हालसम्म निपाह भाइरस पुष्टि नभएपनि जोखिमबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।
फलफूल तथा तरकारी राम्रोसँग पखालेर र पकाएर खाने, पानी उमालेर मात्र पिउने, जनावरको गोठ तथा फार्म सफा राख्ने, बेला बेलामा साबुन पानीले हात धुने, मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह छ।
पूर्व तयारी स्वरुप देशभरका स्वास्थ्य संस्थालाई सचेत गराइएको मन्त्रालयले जनाएको छ। साथै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निपाह भाइरसको परीक्षणका लागि एल्गोरिदम (अन्तरिम) तयार गरिएको मन्त्रालयले जनाएको छ।
शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। जोखिम न्यूनीकरणका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेकाले आतंकित नहुन पनि सरकारको आग्रह छ। नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउँदै मन्त्रालयले सचेत र सहग बन्न सबैलाई आग्रह गरेको छ।