काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा प्रादेशिक अस्पताल सिरहाका तत्कालीन प्रमुख डा नागेन्द्र प्रसाद यादव र डा सरोज यादवसहित १० जना विरुद्ध मुद्दा दायर गरेको छ।
प्रादेशिक अस्पताल सिरहाका आर्थिक वर्ष २०८०/८१ मा विलिङ काउन्टरबाट संकलन भएको सेवा शुल्क दाखिला नगराई भ्रष्टाचार गरेको आरोपमा डा यादव सहित १० जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर हुनेमा तत्कालीन कार्यालय प्रमुखहरु डा नागेन्द्र प्रसाद यादव र डा सरोज यादव, तत्कालीन प्रशासन प्रमुख अशोक सिंह र तत्कालीन लेखा प्रमुख अशोक कुमार यादव, विल काउन्टरमा कार्यरत अहेव श्याम कुमार मण्डल, पुजा कुमारी यादव, सरस्वती कुमारी यादव, रोशन कुमार यादव, अजय कुमार मण्डल र तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको श्रीमती मुस्कान कुमारी मण्डल रहेका छन्।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा ३८ लाख ७७ हजार ७२४ रुपैयाँ माग बिगो दाबी गरिएको अख्तियारले जनाएको छ।
उनीहरुले मिलेमतोमा कर्मचारी नियुक्ती गरी करारका कर्मचारीलाई ओपिडी लगायतमा महत्वपूर्ण नगद रकम संकलन काउन्टरमा राखी दैनिक संकलन भएको राजश्व रकम, राजश्व खातामा जम्मा गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।
लामो समयदेखि ५० लाखभन्दा बढी रकम हिनामिना भएको गुनासोको आधारमा अनुसन्धान गर्दा काउन्टरमा कार्यरत कर्मचारीले ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ ८३ पैसा जम्मा हुनुपर्नेमा ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको अख्तियारले जनाएको छ। हालसम्म ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा दाखिला नगरी भ्रष्टाचार गरेको देखिएको आरोपपत्रमा उल्लेख छ।