बनेपा - काभ्रे र सिन्धुपाल्चोकका साढे ५ हजार किशोरीहरुलाई एचपिभी खोप लगाइने भएको छ। यही माघ २७ गतेदेखि सुरु हुने अभियानमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि काभ्रे र सिन्धुपाल्चोकका ५ हजार ६०२ जना किशोरीहरुलाई एचपिभी खोप दिन लागिएको हो।
काभ्रेपलाञ्चोक जिल्लाका ३ हजार २९० किशोरीहरूलाई खोप अभियानमा समेटिनेछ। खोप अभियान काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तह अन्तर्गतका विद्यालयमा सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
विद्यालयमा अध्ययनरत कक्षा ६ तथा विद्यालय नजाने १० वर्ष उमेरका, साथै गत वर्षको खोप अभियानमा खोप लगाउनबाट छुटेका हाल कक्षा ७ देखि १० मा अध्ययनरत तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका सम्पूर्ण किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको हो।
कार्यालयले दिएको जानकारी अनुसार माघ २७ देखि २९ गतेसम्म धुलिखेलका २५९ किशोरीलाई खोप लगाइनेछ। यस्तै बनेपामा माघ २७ देखि फागुन २ सम्म ९५५ जनालाई, पनौती नगरपालिकामा माघ २५ देखि २९ सम्म ५०० जनालाई खोप लगाइनेछ ।
माघ २६ देखि २९ गतेसम्म पाँचखालका २८४ जनालाई, माघ २८ र २९ गते मण्डनदेउपुरका २३०, माघ २८ र २९ गते नमोबुद्धका १८७ जना, भुम्लुका ८३ जनालाई माघ २६ देखि २८ गतेसम्म खोप लगाइने तालिका छ।
यस्तै, माघ २३ देखि २८ सम्म चौँरीदेउरालीका ९८ जना, तेमालका ७८ किशोरीलाई माघ २८ देखि फागुन १ सम्म, रोशीका २०३ जनालाई माघ २६ देखि फागुन १ सम्म, महाभारतका १६६ जनालाई फागुन ४ र ५ गते, खानीखोलाका १३१ जनालाई फागुन ५ देखि ७ गते र बेथानचोकका ११६ जनालाई माघ २८ देखि फागुन १ गतेसम्म खोप लगाइने तालिका छ।
सिन्धुपाल्चोकमा पनि खोप अभियान
सिन्धुपाल्चोकमा भने माघ २५ गतेदेखि फागुन १ गतेसम्म जिल्लाभर एचपीभी खोप अभियान सञ्चालन हुनेछन्। जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार विद्यालय र स्वास्थ्य संस्थामार्फत लक्षित किशोरीहरूलाई निःशुल्क खोप सेवा प्रदान गरिनेछ।
माघ २५ गतेदेखि फागुन १ गतेसम्म सम्बन्धित विद्यालय, वडा तथा स्थानीय तहका स्वास्थ्य संस्थामार्फत खोप सेवा सञ्चालन गरिनेछ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईँका अनुसार यस अभियान अन्तर्गत २ हजार ३१२ जना किशोरीहरूलाई एचपीभी खोप लगाइने कार्य योजना छ।
‘लक्षित समूहका सबै किशोरीसम्म खोप सेवा पुग्ने गरी विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहबीच समन्वय गरिएको छ’ उनले भने।
एचपीभी खोपलाई पाठेघरको मुखको क्यान्सर रोकथामको सबैभन्दा प्रभावकारी उपायका रूपमा लिइन्छ। किशोरावस्थामै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घट्ने भएकाले यो खोप सार्वजनिक स्वास्थ्यको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले खोपको महत्व औँल्याउँदै भने, ‘एचपीभी खोपले किशोरीहरूको भविष्य सुरक्षित बनाउँछ। आज लगाइने एउटा खोपले भोलि ठूलो रोगबाट जोगाउँछ, त्यसैले लक्षित किशोरीहरूले खोप नछुटाउने गरी सबै अभिभावक, विद्यालय र समुदायले जिम्मेवारीपूर्वक साथ दिनुपर्छ।’