काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा हुम्ला ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकाल सहित चार जना विरुद्ध मुद्दा दायर गरेको छ।
औषधि खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले ढकाल सहित स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फर्माका संचालक कृष्णकुमार भुजुवा विरुद्ध मुद्दा दायर गरेको हो।
उनीहरुले आपसी मिलेमतो तथा योजनामा खरिद नगरेको औषधि तथा अन्य उपकरणहरु समेत खरिद गरेको देखाई कार्यालयमा दाखिला गरेको, एउटै सामानको लागि फरक मितिमा माग फारम, खरिद आदेश तयार गरी फरक फर्माबाट खरिद गेको बिल बनाएको अख्तियारले जनाएको छ।
साथै औषधि तथा स्वास्थ्य उपकरण जस्ता सामान खरिद नै नगरी गैरकानुनी लाभ समेत लिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवार ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम १ लाख ९१ हजार ८५० रुपैयाँ बिगो माग दाबी गरिएको छ।