काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको आर्थिक सङ्कट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छन्।
आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उनले तत्काल १५ अर्ब व्यवस्थापन नगरे स्वास्थ्य बीमा प्रणालीमा आवद्ध रहेका अस्पतालहरू बन्द हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिन्।
मन्त्री डा गौतमले विद्यमान समस्या र अवस्थाको समाधान छलफल र सुझावले मात्र सम्भव नहुने भन्दै स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरिन्।
“शून्य बजेटमा २४ अर्ब दायित्व बोकेर स्वास्थ्य बीमा कार्यक्रम कसरी सञ्चालन हुन्छ ?”, मन्त्री गौतमले प्रश्न गरिन्, “कि स्पष्ट रूपमा स्वास्थ्य बीमा बन्द गर्न निर्देश हुनुपर्यो कि आवश्यक रकम जुटाइदिनुपर्यो।”
स्वास्थ्यमन्त्री डा. गौतमले अर्थमन्त्री र अर्थसचिवलाई प्रत्यक्ष सम्बोधन गर्दै साउनमा प्रस्तुत बजेट वक्तव्यमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अतिविपन्न तथा अल्पसङ्ख्यक समुदायका लागि स्वास्थ्य बीमा सुविधालाई निरन्तरता दिने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको बताइन्।