काठमाडौं - ललितपुरस्थित पाटन अस्पतालले आफ्ना सेवाहरु पूर्ण रुपमा डिजिटलाइज बनाउँदै लगेको छ।
आकस्मिक, बहिरंग र भर्ना सहितका सबै सेवालाई पूर्ण रुपमा डिजिटल बनाएको अस्पतालले जनाएको छ। बिरामीले अब बिल तिर्न वा एक्सरे रिपोर्ट लिन लाइनमा उभिनुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालको भनाई छ।
अस्पतालले विगत १० वर्षको मेहनत र मेडिकल विज्ञहरुको प्रत्यक्ष संलग्नतामा अस्पतालको प्रशासनदेखि उपचारसम्मका सबै प्रक्रियालाई एउटै सुत्रमा बाँध्ने सफ्टवेयर तयार पारेको छ। ती हुन् :
मोबाइलमै प्रेसक्रिप्सन र रिपोर्ट : चिकित्सकले परीक्षण गरेपछि बिरामीले सिधै आफ्नो अनलाइन खाता वा मोबाइल एपबाट प्रेसक्रिप्सन र औषधि विवरण हेर्न पाउनेछन्। झोलामा कागजका फाइलहरु बोकेर हिड्नु पर्दैन।
अनलाइन पैसा तिर्ने सुविधा : काउन्टरमा नगद बोकेर लाइन लाग्नुपर्ने झन्झट हटाउन क्युआर कोर्ड र कार्ड सिस्टम लागू गरिएको छ। अस्पताल प्रशासनका अनुसार बिरामीले डाक्टरलाई भेट्ने बित्तिकै अनलाइनबाटै भुक्तानी गरेर सिधै औषधि लिन वा अन्य परीक्षण गर्न जान सक्नेछन्।
घरबाट एक्सरे र रिपोर्ट डाउनलोड : बिरामीले आफ्नो डिजिटल पोर्टलबाटै एक्सरे, सिटी स्क्यान वा एमआरआईका तस्विरहरु डाउनलोड गर्न सक्नेछन्।
सरकारी सेवाको इन्टिग्रेशन : यो सफ्टवेयरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक उपचार र आन्तरिक राजश्व विभागको प्रणाली पूर्ण रुपमा जोडिएको छ। यसले सरकारी सुविधा लिन चाहने बिरामीले कुनै थप कागजी प्रक्रिया मिलाइरहनु पर्दैन।
अस्पतालले प्रयोग गरिरहेको डिकोट सफ्टवेयर ओपन सोर्स हो। यो सफ्टवेयर यसको सोर्स कोर्ड जो कोहीले पनि निःशुल्क डाउनलोड गरेर चलाउन र आवश्यकता अनुसार परिवर्तन गर्न सक्छन्। यो सँगै छिट्टै आफ्नै मोबाइल एप पनि सार्वजनिक गर्ने अस्पतालको तयारी छ।