काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी बिना योजना खर्च गर्दा समस्या आएको बताएकी छिन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सवमा मन्त्री शर्माले छुट्याएको बजेटभन्दा बाहिर गई स्रोत सुनिश्चितता नगरी काम गर्दा समस्या निम्तिएको बताइन्।
यो आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि सरकारले १० अर्ब बजेट छुट्याएपनि वार्षिक बोर्डले बजेटको परिधि बाहिर गरेको बताइन्।
उनले भनिन्, ‘सरकारले यो आर्थिक वर्षमा स्वास्थ्य बीमालाई १० अर्ब बजेट छुट्याएको हो। त्यो हाम्रो वार्षिक बजेट हो। वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ। त्यो भन्दा बाहिर जान पाईदैन। त्यो भन्दा बाहिर जानुपरे अर्थ मन्त्रालयको स्वीकृति, स्रोत सहमति लिनुपर्छ।’
तर बीमा बोर्डले स्रोत सहमति पनि नलिई र बजेटको सुनिश्चितता नगरी रकमहरु खर्च गर्दा बीमा कार्यक्रमको आर्थिक भार बढेको उनको भनाई छ।
‘हाम्रो बीमा बोर्डले स्रोत सहमति पनि नलिई, स्रोत सुनिश्चित पनि नगरी रकमहरु खर्च गर्दा गर्दै दायित्व २४ अर्ब हुने गरी खर्च भएछ।’ उनले भनिन्, ‘हामीले मितव्ययी कसरी हुने ? कसरी पैसाको सदुपयोग गर्ने ? कसरी चाहिने मात्र खर्च गर्ने ? भनेर बुझ्नुपथ्र्यो। तर हामी नेपालीहरु सरकारले दिन्छ भनेर ढुक्कले बस्ने रहेछौ।’
बोर्डको काम गर्ने शैलीका कारण यो वर्षलाई छुट्याइको १० अर्ब रकम अस्पतालहरुको पुरानो रकम भुक्तानी गर्दा नै सुरुमै सकिएको उनले बताए। भएको बजेट सकिएर शून्यबाट काम गर्दा बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ।