काठमाडौं - नेपाल चिकित्सक संघले मुख तथा दन्त सफाईका सामग्री सहित सौन्दर्य सामग्रीहरुको गुणस्तर मापन तथा कडा नियमन गर्न माग गरेको छ।
संघले प्रेस विज्ञप्ति जारी आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने सामग्रीहरुको गुणस्तर मापन र कडा नियमन गर्न सरकारसँग माग गरेको हो।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) ले हालै मात्र टुथपेस्ट लगायत मुख तथा दन्त सरसफाईका सामग्री सहित विभिन्न सौन्दर्य सामग्रीमा स्वास्थ्यका लागि हानिकारक मानिने सिसाको मात्रा अत्यधिक भेटिएको अध्ययन सार्वजनिक गरेको थियो।
देशका विभिन्न शहरमा रहेका पसलहरुबाट नमुना संकलन गरी परीक्षण गरिएकोमा ३१ प्रतिशत संकलित नमुनामा स्वीकृत अन्तर्राष्ट्यि मापदण्डभन्दा बढी सिसा भेटिनु अत्यन्तै गम्भीर विषय भएको संघको ठहर छ।
दैनिक रुपमा प्रयोग हुने टुथपेस्टका ४५ प्रतिशत नमुनामा सिसा भेटिनु तथा बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीहरु समेत यसमा समावेश हुनुले आम नागरिक तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने संघको भनाई छ।