काठमाडौं - सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान माघ २५ गतेबाट देशैभर सुरु गर्दैछ। किशोरी लक्षित अभियानमा सहभागी भएर खोप लगाउन सरकारले सबैमा आग्रह समेत गरेको छ।
एचपिभी खोप बारे सरकारले विभिन्न माध्यमबाट यो सम्बन्धी जानकारी प्रवाह गरेपनि अझै केही जिज्ञासा छन्। एचपिभी खोप बारे पाँच जिज्ञासा र जानकारी बारे यहाँ स्पष्ट पार्न खोजिएको छ :
१. खोप कहिले दिइन्छ ?
एचपिभी खोप माघको अन्तिम सातादेखि फागुनको दोस्रो सातासम्म दिइनेछ। तर खाप सेवा सञ्चालन हुने मिति र समय पालिका तथा विद्यालय अनुसार फरक हुन सक्ने भएकाले सम्बन्धित विद्यालय व नजिकका स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन अनुरोध गरिन्छ।
२. कसलाई खोप दिइन्छ ?
कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई खोप दिइनेछ। साथै, गत वर्षको एचपिभी खोप अभियानबाट छुट भएका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेका किशोरीहरुलाई पनि यो खोप प्रदान गरिनेछ।
३. खोप कहाँ दिइन्छ ?
यो खोप मुख्यतः विद्यालय केन्द्रित खोप केन्द्रहबाट दिइनेछ। विद्यालय जाने छात्राहरुले आफ्नै विद्यालय वा नजिकको विद्यालयमा खोप लगाउन सक्नेछन्। विद्यालय नजाने किशोरीहरुले पनि नजिकको विद्यालय वा खोप सेवा सञ्चालन हुने स्वास्थ्य संस्थाबाट खोप लगाउन सक्नेछन्।
४. यो एचपिभी खोप कति मात्रा दिइन्छ ?
एचपिभी खोप एक मात्रा मात्र दिइन्छ। यो एक मात्राले नै करिब शतप्रतिशत प्रभावकारिता देखाएको छ। यसअघि एचपिभी खोप लगाइसकेकाले थप मात्रा लगाउनु पर्दैन।
५. एचपिभी खोप कत्तिको सुरक्षित छ ?
एचपिभी खोप अत्यन्तै सुरक्षित छ। विश्व स्वास्थ्य संगठनद्वारा गुणस्तर सुनिश्चित गरिएको खोप मात्र नेपालमा खरिद तथा प्रयोग गरिन्छ र औषधि व्यवस्था विभागबाट समेत प्रयोगको अनुमति प्राप्त छ। गत वर्ष करिब १६ लाख किशोरीहरुले खोप लगाएका थिए र कसैमा पनि गम्भीर असर देखिएको थिएन।
स्रोत : परिवार कल्याण महाशाखा