काठमाडौं - ललितपुरस्थित पाटन अस्पतालमा सेवा लिने बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ। पछिल्लो ४ वर्षमा बहिरंग (ओपिडी) सेवा लिने बिरामीको संख्या बढ्दै गएको हो।
पाटन अस्पतालमा गत वर्ष ५ लाख बढी बिरामीले ओपिडी सेवा लिएका छन्। आर्थिक वर्ष २०८१/८२ मा ५ लाख ६१ हजार २५८ जना बिरामीले ओपिडी सेवा लिएका हुन्। जनरलमा ४ लाख ८५ हजार ४०३, विस्तारित प्राइभेटमा २१ हजार ४७० र इमरजेन्सी ५४ हजार ३८५ गरी ५ लाख ६१ हजार २५८ जनाले सेवा लिएको अस्पतालले जनाएको छ।
आर्थिक वर्ष ०७८/७९ मा ३ लाख ९४५, ७९/८० मा ४ लाख १८ हजार ५४४ र ८०/८१ मा ५ लाख १६ हजार ३७० जना बिरामीले ओपिडी सेवा लिएका छन्।
यो सँगै गत वर्ष २६ हजार ६८० जनाले अन्तरंग सेवा, नर्मल १ हजार ८५६, सिजरियन सेक्सनमा २ हजार ८९० गरी कुल ४ हजार ७४६ जनाले प्रसुति र १३ हजार ६५८ जनाले शल्यक्रिया सेवा लिएका छन्।
२ लाख २९ हजार ३६८ जनालाई ३५ करोड, ६० लाख २५ हजार ६४३ रुपैयाँ बराबरको स्वास्थ्य बीमा मार्फत सेवा लिएको अस्पतालले जनाएको छ। यस अस्पतालमा ज्येष्ठ नागरिक सेवा लिनेको संख्या २९ हजार ७१५ छन् भने एकद्वार संकट व्यवस्थापन कार्यक्रम मार्फत ४२४ जनाले सेवा लिएका छन्।