काठमाडौं - चितवनमा एकै दिन ४१ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन्।
खोप अभियानको पहिलो दिन माघ २५ गते २ हजार ७६६ जना अर्थात् ४१ प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयले खोपको दैनिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
भरतपुर महानगरपालिकामा ९२७ (२८ प्रतिशत), रत्ननगर नगरपालिकामा २६२ (२९ प्रतिशत), खैरहनीमा ३२३ (५३ प्रतिशत), राप्तीमा ५३५ (८२ प्रतिशत), कालिकामा ४२२ (८१ प्रतिशत) र माडी नगरपालिकामा २९७ (८३ प्रतिशत) जना किशोरीले खोप लगाएका छन्।
चितवनमा ६ हजार ७६८ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य छ। अभियानभर कक्षामा ६ मा अध्ययनरत छात्रा ६ हजार ४१९, विद्यालय नजाने १० वर्ष उमेर १९२ र गत वर्ष छुटेका १५७ जना गरी ६ हजार ७६८ जना किशोरीलाई खोप लगाइने कार्यालयले जनाएको छ। पाठेघरको मुखको क्यान्सरबाट बचाउन सरकारले हिजोदेखि देशैभर एचपिभी खोप अभियान सुरु गरेको छ।