काठमाडौं - औषधि व्यवस्था विभागले आर्या फर्मास्युटिकल्स प्रालि बाराले उत्पादन गरेको सुप्रामोक्स सिभी बीड औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ।
विभागले एक सूचना जारी आर्याले उत्पादन गरेको ‘एफएसबीडी १२०१६’ ब्याच नम्बरको सुप्रामोक्स सिभी बीड औषधि न्यून गुणस्तरको भएको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो।
विभागले बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गरेको थियो।
परीक्षणका क्रममा उक्त ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरी बजारमा फिर्ता लैजान भनिएको छ। साथै उक्त औषधिको सिफारिस, बिक्रि वितरण तथा प्रयोग नगर्न विभागले सबैमा आग्रह गरेको छ।