काठमाडौं - चितवनमा हालसम्म ६५ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन्।
खोप अभियान सुरु भएको दोस्रो दिनसम्म यहाँ ६५ प्रतिशत अर्थात् ४ हजार ४२२ किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यसअघि पहिलो दिन ४१ प्रतिशत किशोरीले खोप लगाएका थिए।
खोप अभियानको दोस्रो दिनसम्म भरतपुर महानगरपालिकामा १ हजार ९०६, रत्ननगर नगरपालिकामा ५६६, खैरहनीमा ५१९, राप्तीमा ६१०, कालिकामा ४७४ र माडी नगरपालिकामा ३४७ जनाले खोप लगाएका छन्।
चितवनमा ६ हजार ७६८ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य छ। अभियानभर कक्षामा ६ मा अध्ययनरत छात्रा ६ हजार ४१९, विद्यालय नजाने १० वर्ष उमेर १९२ र गत वर्ष छुटेका १५७ जना गरी ६ हजार ७६८ जना किशोरीलाई खोप लगाइने कार्यालयले जनाएको छ।
पाठेघरको मुखको क्यान्सरबाट बचाउन सरकारले माघ २५ देखि देशैभर एचपिभी खोप अभियान सुरु गरेको हो।