काठमाडौं - मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ।
ओखलढुंगा चिसंखुगढी गाउँपालिका ६ का ४२ वर्षीय पुरुषको एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल ओपन हार्ट सर्जरी गरिएको हो।
मुटु रोग विशेषज्ञ प्राडा अनिल भट्टराईका अनुसार एमआइसीएस भन्नाले काखीमुनि सानो प्वाल पारेर गरिने आधुनिक शल्यक्रिया प्रविधि हो। यसमा छाती पुरै चिर्नु पर्दैन। यस किसिमको आधुनिक प्रविधिबाट गरिएको यो शल्यक्रिया नेपालमै पहिलो पटक भएको उनले बताए।
ती बिरामी करिब डेढ महिना अघि छाति दुखेको समस्या लिएर अस्पताल पुगेका थिए। इको कार्डियोग्राफी गर्दा उनको मुटुमा जन्मजात प्वाल अर्थात् भेन्ट्रिकुलर सेप्टल डिफेक्ट (भीएसडी) को समस्या भेटिएको डा भट्टराईले बताए। मुटुमा प्वाल भएकै कारण ती बिरामीलाई पहिले पनि दुई पटक संक्रमणको समस्या भइसकेको थियो।
उक्त समस्या भेटिएपछि उनी एक साताअघि शल्यक्रियाका लागि अस्पताल भर्ना भएका थिए। आज भने उनी डिस्चार्ज भएको र स्वास्थ्य अवस्था सामान्य रहेको डा भट्टराईले जानकारी दिए।
डा भट्टराईको नेतृत्वमा भएको शल्यक्रियामा डा रवि बराल, डा प्रभात खकुरेल, डा समिर यादव र प्राडा विश्वास प्रधान सहभागी थिए।