मानिसहरूलाई थकान महसुस हुँदा वा निद्रा लाग्दा हाई आउँछ। हाई आउने हाम्रो शरीरको सामान्य प्रक्रिया हो। विभिन्न अध्ययनहरूका अनुसार एक व्यक्तिले एक दिनमा सामान्य रूपमा ५ देखि १९ पटकसम्म हाई काढ्न सक्छ।
तर केही व्यक्तिहरूले असामान्य रूपमा एक घन्टामै १०० पटकभन्दा बढी हाई काढ्ने गरेको पाइन्छ, जुन असामान्य मानिन्छ। बढी हाई गर्नु गम्भीर रोगको संकेत हुन सक्ने विज्ञहरू बताउँछन्। यसले स्वास्थ्यसम्बन्धी गम्भीर समस्याको संकेत गर्न सक्छ।
हाई सामान्यतया किन आउँछ?
पर्याप्त निन्द्रा नहुनु
सबैभन्दा सामान्य कारण यही हो। राति राम्रोसँग निद्रा नपुग्दा दिनभरि हाई आउँछ।
थकान र तनाव
धेरै मानसिक वा शारीरिक थकान हुँदा शरीरले आराम चाहेको संकेत दिन्छ।
अक्सिजन कमी
कहिलेकाहीँ शरीरमा अक्सिजन कम हुँदा पनि हाई आउन सक्छ।
स्लीप डिसअर्डर
निन्द्रामा सास रोकिने समस्या हुँदा बारम्बार हाई आउने हुन्छ।
मस्तिष्क वा स्नायु सम्बन्धी समस्या
दुर्लभ अवस्थामा मस्तिष्कसम्बन्धी समस्या वा न्युरोलोजिकल अवस्थाले पनि यस्तो हुन सक्छ।
डा. सन्देश पन्तका अनुसार यदि लगातार लामो समयसम्म कसैलाई हाई आइरहेको छ भने यसलाई सामान्य थकान मात्र भनेर बेवास्ता गर्नु हुँदैन। यसले निन्द्राको समस्या, मानसिक तनाव वा कहिलेकाहीँ अन्य स्वास्थ्य समस्या पनि संकेत गर्न सक्छ।
त्यस्तै, धेरै हाई आउनेहरूमा डाइबिटिज, स्लीप एपनिया र मुटु सम्बन्धी रोग पनि हुन सक्छ। कसैलाई दिनभर हाई आउँछ भने मधुमेहको सुरुवाती संकेत हुन सक्छ। रगतमा ग्लुकोजको मात्रा कम हुँदा पनि हाई आउन सक्छ। त्यसैले लगातार हाई आइराख्यो भने घरमै निको होला भनेर बस्दा थप समस्या बढ्न सक्छ। तुरुन्त जाँच गर्नु आवश्यक हुन्छ।
यी लक्षणसँगै हाई आइरहेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ
दिनभरि अत्यधिक निन्द्रा लाग्नु
टाउको दुख्ने वा चक्कर लाग्ने
सास फेर्न गाह्रो हुनु
यदि तपाईंलाई लगातार धेरै दिनदेखि अत्यधिक हाई आइरहेको छ भने, एक पटक स्वास्थ्य जाँच गराउनु नै सुरक्षित हुन्छ।