प्रजनन स्वास्थ्य भनेको प्रजनन् प्रणाली, प्रजनन् अङ्ग र तिनका कार्य तथा प्रक्रियाहरू सँग सम्बन्धित सबै कुराहरूमा कुनै रोग वा कमजोरी नभएको अवस्था हुनु मात्र नभई यो व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक रूपमा समेत पूर्ण रूपमा समृद्ध भएको एक अवस्था हो। मानिस प्रजनन् रूपमा पूर्ण स्वस्थ हुनका लागि उसका प्रजनन् अङ्गहरू ठिक, सबल हुनुमात्र नभई प्रजनन् तथा यौनसम्बन्धी मानसिकता, दृष्टिकोण, अवधारणा, सोच आदि पनि सकारात्मक हुनु जरूरी छ।
प्रजनन रुग्णता भन्नाले प्रजनन प्रणालीसँग सम्बन्धित कुनै पनि प्रकारका रोग, समस्या वा जटिलतालाई जनाइन्छ, जसले महिला वा पुरुषको प्रजनन स्वास्थ्यमा नकारात्मक असर पार्दछ। जस्तै;आङ खस्ने समस्या, पाठेघरको क्यान्सर, स्तन क्यान्सर र अव्सटेट्रिक फिस्टुला।
नेपालको हकमा ब्लोबल क्यान्सर अब्जरभेटरी को सन् २०२२ को तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी हुने क्यान्सर भनेको फोक्सोको क्यान्सर हो। महिला केन्द्रित भई तथ्यांक केलाउदा महिलामा हुने क्यान्सर मध्ये स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ भने पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा पर्दछ। बेलैमा समस्या पहिचान गरि उपचार गराएमा यी क्यान्सरको निको हुने सम्भावना करिब पर्सेन्ट सम्म रहन्छ। पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण मध्ये एक HPV (Human Papilloma Virus) को दुइटा स्ट्रेन विरुद्ध नेपाल सरकारले अघिल्लो आ.व. मा क्याम्पेन मार्फत र यो आ.व. मा नियमित खोप मार्फत खोप सेवा प्रदान गरिरहेको छ।
क्यान्सर बाहेक पाठेघर आङ्ग) खस्ने समस्या पनि महिलामा हुने प्रजनन रुग्नाताको एउटा प्रमुख पाटो हो। कुनै कारणले पाठेघर वरिपरिका मांसपेशी र तन्तुहरू कमजोर हुन गएमा पाठेघर आफ्नो ठाउँ भन्दा तल योनीसम्म वा बाहिर निस्कने अवस्थालाई पाठेघर (आङ्ग) खसेको समस्या भनिन्छ। यस्तो अवस्थामा पाठेघरमात्र नभइ यसको अगाडि पिसाबको थैली र पछाडि दिसाको बाटोपनि तल भर्ने गर्दछ। सुत्केरीपछि पर्याप्त आराम, पोषण र सावधानी नअपनाउँदा तथा कम उमेरमा वा धेरैपटक बच्चा जन्माउँदा पाठेघर खस्ने जोखिम बढ्छ।नेपाल सरकारले पाठेघर खस्ने समस्याको उपचार (केगल एक्सरसाइज, रिंग प्रेसरी तथा तोकिएको अस्पतालमा नि:शुल्क शल्यक्रियाको व्यवस्था गरेको छ।केगल एक्सरसाइज पाठेघर वरिपरिको तन्तु दह्रो बनाउने एक किसिमको एक्सरसाइज हो भने रिंग प्रेसरी शल्यक्रिया गर्न नमिल्ने वा नचाहने महिलामा योनी भित्र रबरको रिंग राखी पाठेघरलाई आफ्नो घरमा राख्ने एउटा प्रक्रिया हो। यो स्थायी उपचार भने हैन. राखिएको रिंग बढीमा ३ महिनामा सफा गर्नुपर्छ।एकपटक राखिएको रिंग आफै निकाली अरु कुनै उपचार विधि नअपनाए यो समस्या झन् बढ्छ।
त्यसैगरी प्रसुव (labor) लामो समयसम्म अवरुद्ध हुँदा बच्चाकों टाउकोले वरपरका तन्तुमा अत्यधिक दबाब पारेर पिसाबथैली र योनिमार्ग वा मलद्वार र योनिमार्ग बीचमा असामान्य जडान (फिस्टुला) बन्दछ जसलाई ओब्स्टेट्रिक फिस्टूला भनिन्छ। ओब्स्टेट्रिक फिस्टूला भएका महिलामा योनिबाट लगातार पिसाब वा दिसा चुहिने, दुर्गन्ध आउने, घाउ हुने र सामाजिक-मानसिक समस्या देखिन सक्छ। यसको उपचार पनि तोकिएका अस्पतालमा नि:शुल्क शल्यक्रियाद्वारा सम्भव छ।
नेपाल सरकारले आ.व. २०८०८१, आ.व. २०८१/८२ र आ.व. २०८२/८३ मा मा २४७५ महिलामा पाठेघर आङ्ग) खस्ने समस्याको स्क्रिनिंग गरेको छ। जसमध्ये ६२७ जनामा रिंग प्रेसरी लगाइएको थियो, ६७ जनाको शल्यक्रिया गरिएको थियो भने ८७ जनालाई रिफल गरिएको थियो. शल्यक्रिया गरिएका मध्ये आ.व. २०८०/८१ मा ११ जना, आ.व. २०८१/८२ मा २६ जना र आ.व. २०८२/८३ मा ३० जनाको संख्या रहेको छ। त्यसैगरी यहि समयमा १०४० जना महिलाहरुमा स्तन क्यान्सरको स्क्रिनिंग गरिएको थियो जसमध्ये १३ जनामा क्यान्सर भएको हुनसक्ने देखिएकाले थप जाचका लागि प्रेषण गरिएको थियो। त्यसैगरी, यहि समयमा ३० वर्ष माथिका ५९१४ महिलालाई पाठेघरको मुखको क्यनासरको स्क्रिनिंग गरिएको थियो, जसमध्ये ७० जनालाई थप जाचका लागि प्रेषण गरिएको थियो।
प्रजनन रुग्णताले महिलाको शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक जीवनमा गम्भीर असर पार्छ। यस्ता समस्याले लगातार दुखाइ, पिसाब वा दिसा चुहिने, हिँडडुल र दैनिक काम गर्न कठिनाइ हुने जस्ता समस्या ल्याउँछ। यसका कारण महिलामा लाज, तनाव, आत्मविश्वासमा कमी तथा पारिवारिक र सामाजिक सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ। समयमै उपचार नपाउँदा महिलाको जीवनस्तर र उत्पादनशीलतामा समेत नकारात्मक प्रभाव पर्छ। त्यसैले प्रजनन रुग्णता समयमै पत्ता लाग्नु र यसको उपचार गराउनु महत्वपूर्ण छ।
पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन विशेषगरी तिस वर्षको उमेर पछि हरेक ३-५ वर्षमा स्क्रिनिंग गराउनु पर्दछ। त्यसैगरी स्तन क्यान्सर बेलैमा थाहा पाउन महिनावारी सुरु भएको ५-७ दिनमा महिला स्वयमले स्तनमा केहि असामान्य परिवर्तन भएको छ, गिर्खाहरु आएका छन् कि भनेर आफैले हेर्न सकिन्छ भने स्वास्थ्यकर्मी मार्फत क्लिनिकल ब्रेस्ट एक्जामिनेसन र आवश्यकता अनुसार अल्ट्रासाउण्ड, म्यामोग्राफी आदि पनि गराउन सकिन्छ. हामी हरेक वर्ष जन्मदिन, एनिभरसरी आदिमा मन्दिर जाने, सफल र लामो जीवनको कामना गर्छौ। तर वर्षमा जन्मदिन वा यस्तै शुभ अवसर बनाएर यस्ता रोगको जाँच गरायौ भने जीवन साचै लामो, स्वस्थ र सफल बन्दछ। त्यसैले परिवारसंग भेटघाट, रमाइलो संगै परिवारका महिला सदस्यको धेरै स्वास्थ्य जांच गराउन पनि बिर्सनु हुदैन। महिलाहरू लाज, डर, जानकारीको कमी, समाजको हेर्ने दृष्टिकोण वा आर्थिक समस्याका कारण फिस्टुला र पाठेघर खस्ने समस्याको उपचार लिन हिच्किचाउँछन्। तर यी रोग लुकाएर बस्नुपर्ने होइन, समयमै उपचार गर्नुपर्ने स्वास्थ्य समस्या हुन्। समयमै स्वास्थ्य संस्थामा गई जाँच र उपचार गराउँदा धेरै महिलाहरू पूर्ण रूपमा निको हुन सक्छन् र सामान्य जीवन बिताउन सक्छन्।