काठमाडौं- नेपाली औषधि उद्योगको अग्रणी कम्पनी एमडीएच फर्मास्युटिकल्स प्रा.लि.ले बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित अन्तर्राष्ट्रिय समारोहमा प्रतिष्ठित इएसक्यूआर क्वालिटी अचिभमेन्ट्स अवार्ड २०२६ (गोल्ड क्याटेगोरी) प्राप्त गरेको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार स्पेनस्थित युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च–इएसक्यूआर)ले गुणस्तर व्यवस्थापन, अनुसन्धान तथा विकास, नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्रणालीप्रतिको प्रतिबद्धताको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो।
एमडीएच फार्मास्युटिकल्स विगत २२ वर्षदेखि नेपालमा पशु स्वास्थ्यसम्बन्धी औषधि तथा फिड सप्लिमेन्ट उत्पादन गर्दै आएको स्वदेशी उद्योग हो। कम्पनीले पशुपालन तथा कृषि क्षेत्रमा आवश्यक गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा योगदान पुर्याउँदै आएको जनाएको छ।
कम्पनीले हालै नेपाली औषधि उद्योगमा पहिलोपटक ड्राइ पाउडर इनहेलर (डीपीआई) उत्पादन सुरु गरेर अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यो उत्पादन विशेषगरी सीओपीडी तथा अस्थमा का बिरामीहरूका लागि लक्षित रहेको कम्पनीले जनाएको छ। यससँगै आयातमा निर्भर रहँदै आएको श्वासप्रश्वाससम्बन्धी औषधिको स्वदेशी उत्पादन सम्भव भएको दाबी गरिएको छ।
एमडीएचका अनुसार नेपालकै जलवायु अवस्थालाई ध्यानमा राखेर विकसित गरिएका डीपीआई उत्पादनहरूको स्थायित्व अध्ययन आईसीएच क्लाइमेटिक जोन फोर–बी मापदण्डअनुसार सम्पन्न गरिएको छ। कम्पनीका इनहेलर उत्पादनमा “स्टोर बिलो ३० डिग्री सेल्सियस” उल्लेख गरिएको छ, जसले नेपालको तापक्रम र आर्द्रता अवस्थाअनुसार उत्पादन विकास गरिएको देखाउँछ।
कम्पनीले नेपालमा प्रयोग भइरहेका केही आयातित डीपीआई उत्पादनहरूमा 'स्टोर बिलो २५ डिग्री सेल्सियस' उल्लेख हुने गरेको भन्दै नेपाली जलवायुमा परीक्षण गरिएका स्वदेशी उत्पादनहरूको महत्व अझ बढी रहेको जनाएको छ।
पुरस्कार प्राप्तिपछि कम्पनीका अध्यक्ष दीपक प्रसाद दाहाल ले यो सम्मान एमडीएच परिवार मात्र नभई सम्पूर्ण नेपाली औषधि उद्योगको गौरव भएको बताए। उनले नेपालमै पहिलोपटक ड्राइ पाउडर इनहेलर उत्पादन गरेर औषधिमा आत्मनिर्भरताको नयाँ अध्याय सुरु गरिएको उल्लेख गरे।
कम्पनीले निकट भविष्यमा ट्याब्लेट, क्याप्सुल, मलम तथा ड्रिपजस्ता अत्यावश्यक औषधिको उत्पादन विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। साथै उच्च प्रविधिमा आधारित बायोलोजिकल मेडिसिन्स, इन्सुलिन तथा अन्य बायोसिमिलर औषधिहरू नेपालमै उत्पादन गर्ने दीर्घकालीन तयारी पनि अघि बढाइरहेको जनाएको छ।
डब्लुएचओ–जीएमपी प्रमाणित एमडीएच फार्मास्युटिकल्सले अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको पालना गर्दै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने अभियानमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।