नेपाल चिकित्सक संघ ७६ वर्षे गौरवशाली यात्रा पूरा गरी ३३ औं नयाँ कार्यसमितिको काँधमा नेतृत्व सुम्पिने ऐतिहासिक मोडमा आइपुगेको छ। देशमा प्रजातन्त्र स्थापना भएको दुई साता पनि नपुग्दै वि.सं. २००७ साल फागुन २० गते २० जना दूरदर्शी चिकित्सकहरू मिलेर रोपेको यो बिरुवा आज १६ हजारभन्दा बढी आजीवन सदस्यहरूको विशाल परिवार बनेको छ।
स्थापनाकालदेखि नै 'एकता, भाइचारा र सेवा' लाई आफ्नो मूल मर्म मानेको संघ केवल डाक्टरहरूको साझा संस्था मात्र होइन यो आधुनिक नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्ड र संरक्षक पनि हो। भर्खरै स्थापना भएको स्वास्थ्य मन्त्रालयलाई नीतिगत मार्गनिर्देश गर्नेदेखि लिएर औषधि ऐन, नेपाल मेडिकल काउन्सिल ऐन, स्वास्थ्य सेवा ऐन, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन (जेल विदाउट बेल) ल्याउनेसम्मका हरेक ऐतिहासिक कोसेढुङ्गाहरू संघकै निरन्तरको दबाब र पैरवीबाट जन्मिएका हुन्।
इतिहासलाई केलाएर हेर्दा चिकित्सक संघ राज्यको स्वास्थ्य नीतिको सधैं एउटा भरपर्दो 'थिंक ट्याङ्क' भएर उभिएको छ। निरंकुश शाही शासनकाल होस् वा वि.सं. २०१७ सालको कदम, पञ्चायतको कठोर दमन होस् वा १० वर्षे सशस्त्र द्वन्द्वको त्रासदीपूर्ण समय- नेपाल चिकित्सक संघ कहीँ कतै विचलित भएन, बरु व्यावसायिक स्वाभिमानका साथ अडिग रह्यो।
हरेक राजनीतिक र नागरिक आन्दोलनमा अग्रपंक्तिमा रहेर प्रत्यक्ष नेतृत्वदायी सहभागिता जनाएको चिकित्सक संघको साख कति उच्च थियो भन्ने कुरा इतिहासले बोल्छ, जहाँ कुनै समय राजा र प्रधानमन्त्रीहरू सुझाव सुन्न स्वयं संघको कार्यालयमा आउँथे भने आज पनि देशको सर्वोच्च पदमा आसिन राष्ट्रपति यसका कार्यक्रमहरूमा सहभागी बन्छन्। भूकम्प, बाढी-पहिरो वा कोभिड महामारी जस्ता संकटमा जब सरकार आफैं अलमलिएको थियो, त्यतिबेला संघले नै फ्रन्टलाइनमा आएर नागरिकलाई भरोसा दियो र सरकारको मार्गदर्शक बन्यो।
तर, ७६ वर्षको यो गर्विलो इतिहास र विरासतको भारी बोकेको संघ आज नयाँ मोडमा आइपुगेको छ। एकातिर विगतको गौरव छ, अर्कोतिर वर्तमानका नवप्रवेशी र युवा चिकित्सकहरूको तीव्र आकांक्षा, आक्रोश र असन्तुष्टि छ। पछिल्लो समय केही युवा चिकित्सकहरू संघको कार्यशैलीप्रति पूर्ण खुसी देखिँदैनन्। संघ निश्चित समूहको घेरामा मात्र सीमित भएको र समय अनुकूल चल्न नसकेको आरोपहरू पनि लाग्ने गरेका छन्, जसमा कतिपय अवस्थामा निर्वाचनमा पराजित समूहहरूको राजनीतिक स्वार्थ र गलत प्रचारको खेती पनि जोडिएको देखिन्छ।
वास्तवमा संघ र युवा पुस्ताबीच देखिएको यो खाडल केवल नीतिगत मतभेद मात्र होइन, बरु 'जोस र होस' बीचको स्वाभाविक अन्तरद्वन्द्व हो। आजको डिजिटल र द्रुत गतिको युगमा हुर्किएको युवा पुस्ता कार्यथलोको असुरक्षा र श्रम शोषणका कारण आत्तिएको छ र ऊ कुनै पनि घटना हुनासाथ 'इन्स्ट्यान्ट एक्सन' र तत्कालै नतिजा चाहन्छ। तर, १६ हजार चिकित्सकको अभिभावक संस्था केवल उत्तेजना वा भावुक भीडको भरमा चल्न सक्दैन।
अब प्रश्न उठ्छ- हालै निर्वाचित ३३ औं नयाँ कार्यसमितिको आगामी बाटो के त? नयाँ नेतृत्वले बुझ्नुपर्छ कि हिजोको गौरव देखाएर मात्रै भोलिको सान्दर्भिकता जोगिन सक्दैन। नयाँ कार्यसमितिले अब समयको पदचापलाई पछ्याउँदै आफूलाई रूपान्तरण गर्नैपर्छ।
एउटा विज्ञप्ति निकाल्नेदेखि लिएर आन्दोलनको घोषणा गर्नेसम्मका निर्णयमा पुग्नुअघि संघले त्यसका कानुनी, प्रशासनिक र सामाजिक पाटाहरूको मसिनो अध्ययन गरी सत्य-तथ्य र आधिकारिकताको खोजी गर्नु अनिवार्य हुन्छ। हतार र तयारी बिनाको निर्णयले कालान्तरमा चिकित्सक समुदायलाई नै समाजको नजरमा रक्षात्मक बनाउन सक्छ र ठूलो कानुनी दुर्घटना निम्त्याउन सक्छ भन्नेमा संघ सदैव सजग छ। त्यसैले, संघको यो प्रक्रियागत संयमता यसको कमजोरी होइन, बरु इतिहासले सिकाएको परिपक्वता र शक्ति हो।
अब प्रश्न उठ्छ- हालै निर्वाचित ३३ औं नयाँ कार्यसमितिको आगामी बाटो के त? नयाँ नेतृत्वले बुझ्नुपर्छ कि हिजोको गौरव देखाएर मात्रै भोलिको सान्दर्भिकता जोगिन सक्दैन। नयाँ कार्यसमितिले अब समयको पदचापलाई पछ्याउँदै आफूलाई रूपान्तरण गर्नैपर्छ।
पहिलो, नयाँ नेतृत्वले आफ्नो संस्थागत मर्यादा र सत्य-तथ्य जाँच गर्ने परिपक्वतालाई नछोडीकन युवा चिकित्सकहरूको भावनालाई समेट्न आफ्नो आन्तरिक प्रक्रिया र सञ्चार प्रणालीलाई 'फास्ट-ट्र्याक' बनाउनु पर्छ, ताकि युवा पुस्तामा 'हाम्रो अभिभावकले हाम्रो कुरा सुन्दैछ' भन्ने विश्वास बलियो होस्। दोस्रो, नवप्रवेशी मेडिकल अफिसर र रेजिडेन्ट डाक्टरहरूले भोगिरहेको श्रम शोषण, न्यून पारिश्रमिक र असुरक्षित कार्यथलोका विषयमा संघले अब राज्य र निजी क्षेत्रसँग दरिलोसँग आफ्ना आवाज उठाउँदै परिणाममुखी काम गरेर देखाउनुपर्छ, जसले राजनीतिक दुष्प्रचार गर्नेहरूलाई स्वतः परास्त गर्नेछ। तेस्रो, संघलाई दलीय राजनीतिको अखडा बन्नबाट जोगाई विशुद्ध व्यावसायिक र साझा संस्थाका रूपमा यसको गुमेको प्राज्ञिक ओज फर्काउनु नयाँ कार्यसमितिको मुख्य दायित्व हो।
यति मात्र होइन नेपाल चिकित्सक संघ स्वास्थ्य क्षेत्रका सम्पूर्ण पेशागत संघसंस्थाहरुको पनि आशा र भरोसाको संस्था हो। त्यसकारण संघले स्वास्थ्यका सबै समूह र क्षेत्रका लागि पनि काम अगाडि बढाउनै पर्छ। संघ स्वास्थ्य मन्त्रालयको मात्र नभइ देशकै स्वास्थ्य प्रणाली सुधारको थिंक ट्यांक भएकाले त्यही अनुसार आफ्नो गति बढाउनुपर्छ।
नयाँ कार्यसमितिका सामुन्ने इतिहासको जगमा उभिएर भविष्यको सुन्दर महल बनाउने ऐतिहासिक अवसर र चुनौती दुवै छ। संघले आफ्नो मूल मर्म 'एकता, भाइचारा र सेवा'लाई नै केन्द्रमा राखेर अग्रजहरूको 'होस' र युवाहरूको 'जोस' लाई फ्युजन गर्दै अगाडि बढ्नुपर्छ। इतिहासको गौरवशाली विरासतलाई आधुनिक समयको गतिसँग जोड्न सके मात्र नेपाल चिकित्सक संघको गरिमा अक्षुण्ण रहनेछ।नयाँ कार्यसमितिलाई सफल र रूपान्तरित कार्यकालको हार्दिक शुभकामना!