काठमाडौं- यतिबेला सामाजिक सञ्जालहरुमा दुई जना चिकित्सकहरुलाई अस्पताल परिसरमा अस्पताल गाउनमा नै कान समातेर मुर्गा बनाइरहेको तस्बिर भाइरल भइरहेको छ। चिकित्सकहरुलाई नै 'मुर्गा' बन्न बाध्य पारिएको र मानसिक तथा शारीरिक यातना दिइएको विषयमा सामाजिक सञ्जालमा बहस भइरहेको छ।
उक्त घटनाका विषयमा धेरैले नेपालमा नै यस्तो भएको हो कि भन्ने जिज्ञासा पनि राखेको देखियो। तर उक्त घटना नेपालमा नभइ भारतको एक मेडिकल कलेजमा भएको हो। भारतको गुजरातस्थित भावनगर मेडिकल कलेजमा जुनियर डाक्टरहरूमाथि सिनियर चिकित्सकहरुले र्यागिङ गरेको घटना हो त्यो।
कलेजबाट बाहिरिएको सिसिटिभी फुटेज अनुसार कलेजको शिक्षण अस्पतालको शल्यक्रिया कक्ष (ओटी) बाहिर जुनियर डाक्टरहरूलाई कान समातेर 'मुर्गा' बन्न बाध्य पारिएको र मानसिक तथा शारीरिक यातना दिइएको देखिन्छ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार कलेज प्रशासनले यस घटनामा संलग्न भएको आरोपमा ७ जना सिनियर डाक्टर (विद्यार्थी) हरूलाई कलेज र होस्टेल दुवैबाट निलम्बन गरेको छ।
के भएको थियो घटना?
भावनगर मेडिकल कलेजका १३ जना जुनियर डाक्टरहरूले एन्टी-र्यागिङ कमिटीमा आफूहरूमाथि सिनियरहरूबाट चरम शोषण र दुर्व्यवहार भएको भन्दै उजुरी दिएका थिए। उजुरीमा सिनियर विद्यार्थीहरूले उनीहरूलाई अस्पतालको ओटी बाहिर लामो समयसम्म 'मुर्गा' बन्न लगाएको उल्लेख छ।त्यसका साथै रातिको समयमा होस्टेलका कोठाहरूमा बोलाएर गालीगलौज गर्ने, मानसिक तनाव दिने र अपमानजनक व्यवहार गर्ने गरेको जुनियर डाक्टरहरूले बताएका छन्।
कलेजका डिन डा. हेमन्त मेहताका अनुसार जुनियर विद्यार्थीहरूको उजुरी लगत्तै कलेजको एन्टी-र्यागिङ कमिटीले तत्काल छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा आरोप सत्य प्रमाणित भएपछि सुरुमा ६ जना र पछि थप १ गरी कुल ७ जना सिनियर विद्यार्थीहरूलाई शैक्षिक गतिविधि र होस्टेलबाट निलम्बन गरिएको हो।
एक जनालाई दुई वर्ष, तीन जनालाई एक–एक वर्ष तथा तीई जनालाई छ–छ महिनाका लागि निलम्बन गरिएको छ। निलम्बित विद्यार्थीहरूलाई छात्रावास खाली गर्न निर्देशन दिइएको छ भने उनीहरूलाई निलम्बन अवधिभर शैक्षिक, क्लिनिकल तथा अनुसन्धानसम्बन्धी गतिविधिमा सहभागी हुन नपाइने जनाइएको छ।
प्रहरीमा मुद्दा दर्ता
कलेज प्रशासनको आन्तरिक कारबाहीपछि यो मामला प्रहरीसम्म पुगेको छ। एन्टी-र्यागिङ कमिटीको सिफारिस र कलेजको उजुरीका आधारमा स्थानीय प्रहरीले निलम्बित सातै जना सिनियर विद्यार्थीहरू विरुद्ध भारतीय न्याय संहिताको र्यागिङ विरोधी कडा धाराहरू अन्तर्गत एफआईआर दर्ता गरी कानुनी अनुसन्धान अघि बढाएको छ।
भारतका मेडिकल कलेजहरूमा र्यागिङका घटनाहरू लगातार चुनौतीका रूपमा देखा परिरहेका छन्। यसअघि पनि गुजरातकै पाटनस्थित अर्को एक मेडिकल कलेजमा र्यागिङका क्रममा ३ घण्टासम्म लगातार उभिन बाध्य पारिँदा एक १८ वर्षीय प्रथम वर्षका विद्यार्थी अनिल मेथानियाको हृदयघातका कारण दुःखद मृत्यु भएको थियो।
सर्वोच्च अदालत र विश्वविद्यालय अनुदान आयोगको कडा निर्देशिकाका बाबजुद मेडिकल कलेजहरूमा 'इन्ट्रो' (परिचय) का नाममा जुनियरहरूलाई मानसिक र शारीरिक यातना दिने क्रम नरोकिँदा चिकित्सा शिक्षा क्षेत्रमा विद्यार्थीहरूको सुरक्षा र मानसिक स्वास्थ्यलाई लिएर गम्भीर प्रश्न उठ्न थालेको छ।
पछिल्लो घटनापछि इन्डिएन मेडिकल एसोसिएसनले पनि गुजरात सरकारलाई मेडिकल कलेजहरूमा र्यागिङविरुद्ध कडा कदम चाल्न आग्रह गरेको छ।