वैज्ञानिकहरूले वर्षौँदेखि चिकित्सा क्षेत्रका लागि चुनौती बनिरहेको क्रोनिक हेपाटाइटिस 'बी' को उपचारमा एउटा ठूलो र उत्साहजनक सफलता हात पारेका छन्। हालै सार्वजनिक एक अनुसन्धान प्रतिवेदन अनुसार एउटा नयाँ औषधिले क्रोनिक हेपाटाइटिस 'बी' बाट ग्रसित ५ मध्ये १ बिरामीलाई लगभग पूर्ण रूपमा निको पारेको छ।
'विगत कयौँ दशकयता क्रोनिक हेपाटाइटिस 'बी' को उपचार र अनुसन्धानमा भएको यो नै पहिलो र सबैभन्दा ठूलो फड्को हो,' विश्वप्रसिद्ध मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरका कलेजो रोग विशेषज्ञ एवं सर्जन डा. विलियम जार्नागिनले यसको महत्वलाई पुष्टि गर्दै भनेका छन्।
यो अध्ययन मुख्य गरी तिनै बिरामीहरूमा केन्द्रित थियो, जो सामान्य मानिसजस्तो हेपाटाइटिस 'बी' को प्रारम्भिक संक्रमणबाट आफैँ मुक्त हुन सकेका थिएनन्। रगत वा वीर्य जस्ता शारीरिक तरल पदार्थका माध्यमबाट सर्ने यो भाइरस यदि शरीरबाट हटेर गएन भने यसले सिधै कलेजोमा रैथाने डेरा जमाउँछ। कलेजोमा हुने यस्तो क्रोनिक (दीर्घकालीन) संक्रमणले कालान्तरमा लिभर सिरोसिस (कलेजो सुक्ने रोग), कलेजोको क्यान्सर र अन्ततः अकालमै मृत्यु निम्त्याउने गर्छ।
हुन त हेपाटाइटिस 'बी' विरुद्धको खोप (भ्याक्सिन) उपलब्ध छ र यसलाई लाग्नै नदिन सकिन्छ, तर अमेरिकामा मात्रै अहिले १० लाखभन्दा बढी मानिस यसको क्रोनिक संक्रमण झेलिरहेका छन्। हाल यसको जुन उपचार उपलब्ध छ, त्यो जीवनभर चलिरहन्छ। बिरामीले जीवनभर एन्टिभाइरल र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरू खाइरहनुपर्छ।
विडम्बना के छ भने, अहिले बजारमा पाइने यी औषधिहरूले कलेजोबाट भाइरसलाई जरैदेखि उखेल्न सक्दैनन् र कलेजोको क्यान्सर हुने जोखिमलाई पनि पूर्ण रूपमा टार्न सक्दैनन्। यही पृष्ठभूमिमा आएको नयाँ औषधि 'बेपिरोभिरसेन' (Bepirovirsen) ले भने बिरामीको शरीरमा भाइरसको मात्रा पत्ता नै नलाग्ने स्थितिमा पुर्याइदिएको छ। चिकित्सा विज्ञानको भाषामा यसलाई 'फङ्क्सनल क्योर' (Functional Cure) अर्थात् व्यावहारिक रूपमा रोग पूर्ण निको भएको मानिन्छ।
'आयोनिस फर्मास्युटिकल्स' र औषधि उत्पादक विश्वविख्यात कम्पनी 'ग्याक्सोस्मिथक्लाइन'ले संयुक्त रूपमा विकास गरेको यो 'बेपिरोभिरसेन' औषधिले भाइरसलाई आफ्नो संख्या बढाउनबाट रोक्छ र मानव शरीरको प्राकृतिक प्रतिरोधात्मक प्रणालीलाई भाइरस विरुद्ध खनिन मद्दत गर्छ। यो औषधि हप्तामा एक पटक सुई मार्फत बिरामीलाई दिइन्छ।
चिनियाँ अनुसन्धानकर्ताहरूको नेतृत्वमा २४ हप्तासम्म चलाइएका दुईवटा छुट्टाच्छुट्टै क्लिनिकल ट्रायलका क्रममा यस औषधिको व्यापक परीक्षण गरिएको थियो। यस अनुसन्धानमा एसिया, युरोप, उत्तर र दक्षिण अमेरिकाका २९ देशका १,८३८ भन्दा बढी बिरामीहरू सहभागी गराइएका थिए।
चिकित्सा क्षेत्रको प्रतिष्ठित जर्नल 'न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन' मा प्रकाशित प्रतिवेदन अनुसार, बेपिरोभिरसेन औषधि दिएका करिब २० प्रतिशत बिरामीहरूमा 'फङ्क्सनल क्योर' (पूर्ण सुधार) देखियो। अचम्मको कुरा त के छ भने, उपचार सकिएको ४८ हप्ता (करिब एक वर्ष) पछि परीक्षण गर्दा पनि उनीहरूको शरीरमा भाइरसको कुनै अंश भेटिएन।
यसको विपरीत, औषधिको सट्टा साधारण पानी वा 'प्लासिबो' दिइएका कुनै पनि बिरामीमा कुनै सुधार देखिएन। युनिभर्सिटी अफ मिसिगन मेडिकल स्कुलकी क्लिनिकल रिसर्च असिस्टेन्ट डिन डा. अन्ना एस. लोकले यस अनुसन्धानको स्वागत गर्दै यो नतिजालाई 'असाधारण र उल्लेखनीय' संज्ञा दिएकी छिन्। उनका अनुसार यो उपलब्धि चिकित्सा जगत्मा 'एउटा निकै ठूलो पाइला' हो। डा. लोकले हेपाटाइटिसको उपचारमा काम गरिरहेका विभिन्न बहुराष्ट्रिय औषधि कम्पनीहरूसँग परामर्शदाताको रूपमा पनि लामो अनुभव सँगालेकी छिन्।
तर, कलेजो निकै बिग्रिसकेका (सिरोसिस भइसकेका), एचआईभी संक्रमित र शरीरमा हेपाटाइटिस 'बी' को अत्यधिक लोड भएका जटिल बिरामीहरूलाई भने तत्कालका लागि यस अनुसन्धानमा समावेश गरिएको थिएन।
ग्लाक्सोस्मिथक्लाइन कम्पनीले यो औषधिलाई व्यावसायिक रूपमा बजारमा ल्याउनका लागि अमेरिकी नियामक निकाय 'फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन'सँग अनुमति मागिसकेको छ, जसको अन्तिम निर्णय अक्टोबर २६ सम्ममा आउने अपेक्षा गरिएको छ। यदि यो स्वीकृत भएमा, यसले विश्वभरका लाखौँ कलेजोका बिरामीहरूलाई नयाँ जीवन दिने निश्चित छ।