यतिबेला अफ्रिकन देश कंगोमा इबोला महामारी तीव्र रुपमा फैलिरहेको छ। पछिल्लो तथ्यांक अनुसार कंगोमा १२ सय भन्दा बढीमा संक्रमण देखिसकेको छ भने २७७ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो एक सातामा नै कंगोमा ७२ जना नयाँ सङ्क्रमित थपिएको र २९ जनाको मृत्यु भएको देखाउँछ। गत मे महिनामा महामारी घोषणा भएयताकै यो सबैभन्दा उच्च दैनिक वृद्धि हो।
यो महामारी मुख्य गरी कंगोको इतुरी प्रान्तमा बढी छ। जहाँका २० वटा स्वास्थ्य क्षेत्रमा ९ भन्दा बढी केसहरू पुष्टि भएका छन्। यसबाहेक, उत्तर किभु र दक्षिण किभु प्रान्तका क्रमशः १० र १ स्वास्थ्य क्षेत्रमा पनि संक्रमणका घटनाहरु दैनिक फेला परेका छन्।
यद्यपि, कंगोमा वास्तविक संक्रमितको संख्या योभन्दा धेरै हुन सक्ने अनुमान छ। किनभने, महामारी सुरु भएको शंका लागेको महिनौँ पछि मात्र गत मे १५, २०२६ मा कंगो र युगान्डा दुवै देशमा यसको आधिकारिक पुष्टि भएको थियो। यसैबिच कंगोको स्वास्थ्य मन्त्रालयले तीनवटै प्रान्तमा कन्ट्याक्ट ट्रेसिङ (सङ्क्रमितको सम्पर्कमा आएकाहरूको खोजी) को दर खस्केर ६४.४ प्रतिशतमा पुगेको जनाएको छ।
कंगोमा विगतमा देखिएका इबोला महामारीको तुलनामा यसपटकको प्रकोप 'बुन्डिबुग्यो' प्रजातिको भाइरसका कारण फैलिएको हो। यो प्रजाति आफैँमा निकै चुनौतीपूर्ण मानिन्छ, किनकि यसको विरुद्धमा अहिलेसम्म कुनै स्वीकृत खोप वा निश्चित उपचार उपलब्ध छैन।
यता अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने अमेरिकामा यो महामारीको जोखिम अझै पनि न्यून रहेको दाबी गरेको छ। कंगोमा रहँदा संक्रमित भएका भनिएका एक अमेरिकी मेडिकल मिसनरी स्वदेश फर्किसकेका छन् र मे ३०, २०२६ देखि उनी संक्रमणमुक्त छन्।
यसै सन्दर्भमा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोकी सरुवा रोग विशेषज्ञ एवं मेडिसिनकी प्राध्यापक डा. मोनिका गान्धीसँग इबोलाका बढ्दो केसहरू, खोपको विकास र विश्वव्यापी रूपमा यसको फैलिन सक्ने सम्भाव्यताबारे आम रुपमा उठेका ३ वटा जिज्ञासामा केन्द्रित रहेर कुराकानी गरिएको छ।
१. यो भाइरस यति तीव्र गतिमा किन फैलिरहेको छ?
'कंगोमा अहिले देखिएको इबोला महामारी 'बुन्डिबुग्यो' भाइरसका कारण फैलिएको हो, जुन इबोला भाइरस परिवारको एउटा भिन्न प्रजाति हो। यसको विरुद्ध अहिलेसम्म कुनै खोप वा औषधि बनेको छैन,' डा. गान्धीले भनिन्।
विगतका अधिकांश इबोला महामारीहरू 'जायरे' प्रजातिका कारण भएका थिए। सन् २०१४–२०१६ मा पश्चिम अफ्रिकामा इतिहासकै सबैभन्दा ठूलो इबोला प्रकोप फैलाउन पनि यही जायरे प्रजाति जिम्मेवार थियो।
'इबोला भाइरसका कारण सुरुमा टाउको दुख्ने, मांसपेशी दुख्ने, ज्वरो आउने, पेट दुख्ने, खोकी लाग्ने र घाँटी दुख्ने जस्ता गम्भीर लक्षणहरू देखिन्छन् र अन्त्यमा आन्तरिक रक्तस्राव भएर बिरामीको मृत्यु हुन्छ,' डा. गान्धीले थपिन्, 'सुरुमा यस क्षेत्रका अधिकारीहरूले यो महामारी बुन्डिबुग्योका कारण भएको हो भन्ने ठम्याउन सकेनन्। उनीहरूले यसलाई बढी चिनिएको 'जायरे' प्रजाति ठाने, जसका कारण सही प्रयोगशाला परीक्षण हुन सकेन र रोग पहिचानमै ढिलाइ भयो।
उनका अनुसार, मे १७ मा विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्दासम्म भाइरस धेरै ठाउँमा फैलिसकेको थियो। र, कुनै खोप वा उपचार उपलब्ध नभएको अवस्थामा भाइरस नियन्त्रण गर्ने एकमात्र उपाय भनेको बिरामीलाई आइसोलेसनमा राख्नु, कन्ट्याक्ट ट्रेसिङ गर्नु र सङ्क्रमितको सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा राख्नु मात्र हो।
'कंगोको द्वन्द्वग्रस्त क्षेत्रमा यो भाइरस फैलिरहेकाले सबै संक्रमितहरूलाई ट्र्याक गर्न र आइसोलेसनमा राख्न निकै गाह्रो भइरहेको छ। मानिसहरू आक्रमणबाट बच्न आ-आफ्नो थातथलो छोडेर भागिरहेका छन्, जसले गर्दा उनीहरू स्वास्थ्य निर्देशिकाहरू पालना गर्न सकिरहेका छैनन्। यसैबिच, विश्व स्वास्थ्य संगठनबाट अमेरिका बाहिरिनु र युएसएडको प्रभाव कमजोर हुनु वैश्विक स्वास्थ्य नियन्त्रणका प्रयासहरूका लागि ठूलो धक्का हो, किनकि अमेरिका विश्व स्वास्थ्यको क्षेत्रमा सधैँ अग्रणी भूमिकामा हुन्थ्यो,' डा. मोनिका गान्धीले भनिन्।
डा. गान्धीको अर्को अनुमान के छ भने एकै दिनमा केसहरूको संख्या ह्वात्तै बढ्नुको कारण परीक्षण र निगरानीको दायरा बढाइएकाले पनि हुन सक्छ, जुन एक हिसाबले सकारात्मक कुरा हो। किनकि यसो हुँदा संक्रमितहरूको पहिचान भई उनीहरूका सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा राख्न सजिलो हुन्छ।
२. के यो प्रजातिका लागि कुनै खोप बन्दैछ?
'हो, जब यो महामारी बुन्डिबुग्यो भाइरसका कारण फैलिएको पुष्टि भयो, तब वैज्ञानिकहरू यसको खोप बनाउने दौडमा लागेका छन्, किनभने यसको कुनै लाइसेन्सप्राप्त खोप उपलब्ध छैन,' डा. गान्धीले भनिन्।
उनका अनुसार विश्व स्वास्थ्य संगठनले 'जायरे' प्रजाति विरुद्ध प्रयोग गरिने 'इर्बेभो' खोपलाई यसमा पनि प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन गरेको थियो। तर, ठोस अनुसन्धान र योजनाबद्ध क्लिनिकल सेटिङ बाहिर यस खोपको प्रयोग गर्न नहुने निष्कर्ष डब्ल्यूएचओले निकालेको छ।
'अर्को एउटा आशालाग्दो खोप 'rVSV बुन्डिबुग्यो' हो, जसलाई इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभले विकास गरिरहेको छ। यद्यपि, यो खोप क्लिनिकल ट्रायल (मानवीय परीक्षण) का लागि तयार हुन अझै ७ देखि ९ महिना लाग्नेछ,' डा. गान्धीले जानकारी दिइन्।
यो खोपमा 'भेषिक्युलर स्टोमाटाइटिस भाइरस' नामक भाइरल भेक्टरको प्रयोग गरिएको छ। यसबाहेक, अर्को एउटा भाइरल भेक्टर भ्याक्सिन र एमआरएनए (mRNA) प्रविधिमा आधारित खोप पनि विकासको क्रममा छन्, तर ती परीक्षणका लागि तयार हुन अझै केही समय लाग्नेछ।
३. के विज्ञहरू यसको विश्वव्यापी फैलावटप्रति चिन्तित छन्?
संक्रमितको संख्या लगातार बढिरहेको भए तापनि डा. गान्धी यो इबोला प्रकोप विश्वव्यापी महामारीका रूपमा परिणत हुने सम्भावना निकै कम रहेको बताउँछिन्। भाइरसको प्रकृति र यसको सर्ने माध्यमलाई हेर्दा, जनस्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गराउन सके यसलाई त्यहीँ भित्रै नियन्त्रण गर्न सकिन्छ।
'इबोला भाइरस केवल सङ्क्रमित व्यक्तिको वा इबोलाका कारण मृत्यु भएका व्यक्तिको शारीरिक तरल पदार्थ (रगत, र्याल, पसिना आदि) को प्रत्यक्ष सम्पर्कबाट मात्र सर्छ,' उनले जोड दिँदै भनिन्।
'यो भाइरस कोभिड जस्तो हावाका कणहरू (Respiratory Droplets) बाट सर्दैन, न त लक्षण नदेखिएका व्यक्तिहरूबाट नै यो अरूमा फैलिन्छ। त्यसैले, यदि प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाउन सकियो भने यो महामारी विश्वभर नफैलिई अन्ततः नियन्त्रणमा आउनेछ,' डा. गान्धीले स्पष्ट पारिन्।
'यसका लागि कंगोमा स्वास्थ्य अधिकारीहरूको बलियो उपस्थिति, डब्लुएचओमा अमेरिकी लगानीको निरन्तरता र महामारी रहुन्जेल उच्च सतर्कता आवश्यक पर्छ। साथै, प्रभावकारी खोप र उपचारको विकासका लागि विश्वव्यापी प्रयास जारी रहनुपर्छ,' सरुवा रोग विशेषज्ञ डा. गान्धीले निष्कर्ष निकालिन्।
(मेडिकल न्यूज टुडेबाट)