काठमाडौं- प्रसिद्ध औषधि कम्पनी जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले आफ्नो बेबी पाउडर र टाल्कयुक्त उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको आरोपमा दायर भएका हजारौं मुद्दा टुंग्याउन ५.५ अर्ब अमेरिकी डलरसम्म तिर्ने प्रस्ताव गरेको छ।
यो प्रस्ताव वर्षौंदेखि चलिरहेको ठूलो कानुनी विवाद अन्त्य गर्ने प्रयासका रूपमा आएको हो। उक्त विवादले न्यू जर्सीस्थित स्वास्थ्य सेवा कम्पनी जोनसन एन्ड जोनसनमाथि लामो समयदेखि कानुनी दबाब सिर्जना गर्दै आएको छ।
यद्यपि, जोनसन एन्ड जोनसनले यी सबै आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ। कम्पनीका अनुसार उसका टाल्कयुक्त उत्पादनहरूले क्यान्सर गराउँदैनन्। साथै, कम्पनीले आफ्नो लोकप्रिय बेबी पाउडरको सूत्र (फर्मुला) समेत परिवर्तन गरिसकेको जनाएको छ।
कम्पनीका मुद्दा व्यवस्थापन (लिटिगेसन) सम्बन्धी उपाध्यक्ष एरिक हासले सोमबार यी आरोपहरूलाई 'निराधार' भएको बताएका छन्।
उनले कम्पनीले कुनै गल्ती स्वीकारेका कारण होइन, बरु लामो समयदेखि जारी कानुनी विवादलाई सधैंका लागि अन्त्य गर्ने उद्देश्यले सम्झौता गर्न लागेको स्पष्ट पारे।
जोनसन एन्ड जोनसनका अनुसार कम्पनीले आगामी वर्ष ३ अर्ब अमेरिकी डलरसम्म भुक्तानी गर्नेछ। त्यसपछि सन् २०२८ अघि कुनै थप भुक्तानी गर्नुपर्ने छैन।