काठमाडौं – नेपालमा ब्रेन डेथपश्चात् अंगदान कानुन आएको लामो समय हुँदा पनि अंगदान गर्नेहरुको संख्या भने एकदमै न्यून रहेको पाइएको छ ।
सरकारी संयन्त्रले नेपालका अस्पतालहरुसँग राम्रोसँग समन्वय नगरेका कारण नेपालमा मस्तिष्क मृत्युपछि हुने अंगदान न्यून रहेको चिकित्सकहरु बताउँछन्।
पश्चिमा मुलुकहरुमा ९५ प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु पश्चात् दाताहरुबाट निकालिएका अंगहरुको हुने तथ्यांक छ।
अंगदान सम्बन्धी कानुन आएको एक दशक बित्दा पनि ७ वटा मात्रै मस्तिष्क मृत्युपछिको अंगदान भएको कलेजो प्रत्यारोपण सर्जन डा प्रदेज सापकोटा बताउँछन् ।
पछिल्लो ३ वर्षमा मस्तिष्क मृत्युपछिको अंगदान २ वटा मात्रै भएको डा सापकोटा बताउँछन् ।
त्यसमध्ये ४ कलेजो प्रत्यारोपण हालसम्म गरिएको हो । हालसम्मको कानुनी व्यवस्थामा शहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रले मात्रै अंग प्रत्यारोपण गर्न पाउने छ । अंग प्रत्यारोपणलाई अन्य अस्पतालमा विस्तार गर्न नसक्दा लामो समयमा पनि यसको संख्या न्युन रहेको उनको दाबी छ ।
नेपालमा मस्तिष्कमृत्युपछि हुने अंगदान किन न्यून ?
नेपालमा जनचेतनाको कमी,धार्मिक तथा सांस्कृतिक अन्धविश्वास तथा कानुन कार्यान्वयनको कमजोर अवस्थाका कारण मस्ष्तिक मृत्युपछि हुने अंगदान न्यून रहेको छ ।
हरेक वर्ष करिब १ हजार जनाको मस्तिष्क मृत्यु हुनेगरेपनि अंगदान भने अत्यन्तै न्यून छ ।
यसका साथै पारिवारिक असहमति,प्राविधिक तथा कानुनी झन्झट तथा अस्पतालमा पूर्वतयारीको अभावका कारण पनि पर्याप्त मात्रामा अंगदान हुन सकेको छैन ।
अंग प्रत्यारोपण सेवालाई अन्य अस्पतालमा पनि विस्तार गरिन्छ : डा अधिकारी सहप्रवक्ता स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले मानव अंग प्रत्यारोपण केन्द्रलाई अंगदानका लागि वार्षिक रुपमा बजेट विनियोजन गर्दै आएको स्वास्थ्य मन्त्रालयका सह – प्रवक्ता डा समीर अधिकारी बताउँछन् ।
नेपालमा अंग प्रत्यारोपण सेवाको सुरुवात भएको लामो समय भइनसकेको तथा विशिष्टीकृत सेवा भएकोले यसलाई धेरै अस्पतालमा विस्तार गर्न नसकिएको उनले जानकारी दिए ।
मानव अंग प्रत्यारोपण केन्द्रलाई थप सुढृढ गरी अन्य अस्पतालमा अंग प्रत्यारोपण सेवालाई विस्तार गर्ने तयारी स्वास्थ्य मन्त्रालयको रहेको उनी बताउँछन् ।
प्रदेश अस्पताल तथा अन्य अस्पतालसँग समन्वय गरेर काम गर्ने प्रक्रिया अगाडि बढिसकेको उनको दाबी छ ।
बलियो प्रणाली विकास नगरी सेवा विस्तार गरेमा दुरुपयोग हुनसक्ने डा अधिकारीको बताउँछन् । विस्तारै मानव अंग प्रत्यारोपण गर्नुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएकोले आगामी दिनमा यस सेवालाई विस्तार गर्न योजना मन्त्रालयले बनाएको उनले जानकारी दिए ।
समाजका मानिसहरुले सहज रुपमा अंगदान गर्न नखोज्ने भएपछि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे सुनिश्चिता गरेपछि मात्रै यसबारे समाजमा विश्वास बढ्दै जाने भएकोले आगामी दिनमा यसलाई विस्तार गरिने सहप्रवक्ता अधिकारीको धारणा छ ।
अंगदान भनेको के हो ?
मानव शरीरका कुनै पनि अंगहरु जीवित नै हुँदा अथवा मृत्युपश्चात् दिने प्रक्रियालाई अंगदान भनिन्छ । अंगदान जीवित नै हुँदा वा मृत्युपश्चात् दिन सकिन्छ । नेपालमा जीवित नै हुँदा दिने अंगदान बढी हुने गर्छ ।
यूरोप अमेरिका जस्ता पश्चिमा देशहरुमा मृत्युपश्चात् अंगदान गर्ने बढी प्रचलन रहेको छ । जसलाई मस्तिष्क मृत्युपछि गरिने अंगदान भनिन्छ । नेपाली कानुन अनुसार पनि मस्तिष्क मृत्युपछि अंगदान गर्न मिल्छ ।
कुन–कुन अंगलाई दान गर्न सकिन्छ ?
मानव शरीरका विभिन्न महत्वपूर्ण अंग वा तन्तुहरुलाई दान गरेर अरुको ज्यान जोगाउन सकिन्छ । नेपालको कानुन अनुसार मृगौला, कलेजो, फोक्सो,मुटु,आँखा,प्यान्क्रियाज,सानो आन्द्रा,छाला, हाड र जोर्नीहरु दान गर्न सकिन्छ ।
अंगदान जीवित हुँदा र मस्तिष्क मृत्यु घोषित भइसकेपछि गरेर दुई पटक गर्न सकिन्छ । नेपालमा अंगदान पूर्णरुपमा स्वेच्छिक तथा निशुल्क रुपमा गर्न सकिने व्यवस्था छ । एक जना दाताले मृत्युपश्चात् अंगदान गरेर ८ जनासम्मको ज्यान जोगाउन सक्छ । अंगदान वा प्रत्यारोपणसम्बन्धि आधिकारिक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आधिकारिक माध्यम वा स्वास्थ्य मन्त्रालयको वेबसाइटमा पनि हेर्न सक्ने व्यवस्था छ ।