काठमाडौं– नेपालका सीमावर्ती जिल्लाबाट थारू समुदायका युवतीलाई अवैध रूपमा अण्डाणु (एग) दान गराउन भारत लैजाने मानव बेचबिखनको नयाँ स्वरूप सार्वजनिक भएको छ। सामाजिक सञ्जालमार्फत आर्थिक प्रलोभन देखाएर युवतीलाई सीमा पार गराउने र भारतमा अण्डाणु संकलन गराउने गिरोह सक्रिय रहेको दाबी गर्दै भारतीय सञ्चारमाध्यम 'दैनिक भाष्कर'ले समाचार छापेको छ।
उक्त समाचारका अनुसार नेपालका कैलाली र कञ्चनपुर जिल्लामा गरेको स्थलगत अनुसन्धानले यस्तो गतिविधि बढ्दो क्रममा रहेको देखाएको छ। अनुसन्धानअनुसार गिरोहले विशेषगरी आर्थिक रूपमा कमजोर र सीमावर्ती क्षेत्रमा बसोबास गर्ने थारू समुदायका युवतीलाई लक्षित गरिरहेको छ।
तस्करहरूले अण्डाणु दान गरेबापत ३० हजारदेखि ६० हजार भारतीय रुपैयाँसम्म आम्दानी हुने भन्दै युवतीलाई प्रलोभनमा पार्ने गरेका छन्। उनीहरूलाई नेपाल–भारत सीमा पार गराएर उत्तर प्रदेश हुँदै दिल्ली पुर्याइन्छ, जहाँ अण्डाणु संकलन गरिने व्यवस्था मिलाइन्छ। संकलित अण्डाणु सहायक प्रजनन प्रविधि (एआरचटी) अन्तर्गत निःसन्तान दम्पतीको उपचारमा प्रयोग हुने बताइएको छ।
अनुसन्धानका क्रममा कञ्चनपुरकी एक थारू युवती (नाम परिवर्तन) सम्म पुग्दा दिल्लीमा बसोबास गर्ने एक नेपाली महिलाले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी अण्डाणु दानलाई 'रक्तदानजस्तै सामान्य प्रक्रिया' भनेर विश्वास दिलाएको खुलेको छ। युवतीलाई सीमा पार गरेपछि दिल्लीसम्मको सम्पूर्ण यात्रा र बसोबासको व्यवस्था गिरोहले मिलाउने आश्वासन दिइएको थियो।
विश्वास दिलाउन यसअघि अण्डाणु दानका लागि भारत पुगेका वा जाने तयारीमा रहेका अन्य नेपाली युवतीसँग समेत उनको सम्पर्क गराइएको थियो। तर भारत प्रवेश गर्ने क्रममा गौरीफन्टा सीमा नाकामा सुरक्षा निकायको निगरानीमा परेपछि सम्भावित तस्करीको प्रयास विफल भएको बताइएको छ।
अनुसन्धानले आर्थिक रूपमा विपन्न परिवारका किशोरी तथा युवतीलाई प्राथमिक रूपमा लक्षित गरिएको देखाएको छ। उद्धार गरिएकी युवतीका परिवारको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गरिएको छ।
नेपाल राष्ट्रिय मानवअधिकार आयोगको सन् २०२६ को प्रतिवेदनअनुसार नेपाल–भारत सीमामा प्रत्येक वर्ष औसत ७ हजार ४ सय जनालाई मानव बेचबिखनको आशंकामा रोक्ने गरिएको छ। तीमध्ये ५२ प्रतिशत महिला र ४२ प्रतिशत नाबालिग बालिका रहेका छन्।
नेपाल राष्ट्रिय मानवअधिकार आयोग, कैलालीका संयुक्त सचिव प्रकाश दत्त भट्टले अवैध अण्डाणु दानका लागि हुने महिला तस्करी नेपालमा देखिएको नयाँ र गम्भीर चुनौती भएको बताएका छन्। उनका अनुसार विशेषगरी दुर्गम र विपन्न क्षेत्रमा चेतनाको अभाव तथा आर्थिक समस्याको फाइदा उठाउँदै तस्करहरूले महिला तथा किशोरीलाई आफ्नो जालमा पारिरहेका छन्।
आर्थिक प्रलोभन, छलकपट वा मानव बेचबिखनमार्फत गराइने अण्डाणु संकलनले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै प्रजनन अधिकारमाथि समेत गम्भीर जोखिम उत्पन्न गर्ने विज्ञहरूको भनाइ छ।
यस घटनाले सीमापार मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको संकेत गरेको छ। अब श्रम शोषण वा यौन शोषण मात्र होइन, प्रजनन स्वास्थ्यसँग सम्बन्धित अवैध गतिविधिसमेत मानव बेचबिखनको नयाँ माध्यमका रूपमा देखिन थालेको भन्दै सम्बन्धित निकायले सीमा निगरानी, सामाजिक सञ्जालमार्फत हुने प्रलोभनको अनुगमन र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।