नेपाल चिकित्सक संघ स्थापना भएको ७५ वर्ष पुरा भइसकेको छ। आजका धेरै नयाँ चिकित्सकहरूलाई यस संस्थाको इतिहास, योगदान र संघर्षबारे धेरै जानकारी नहुन सक्छ। तर मेरो लागि यो संस्था केवल एउटा नाम मात्र होइन, भावना र इतिहाससँग जोडिएको संस्था हो।
म सानो हुँदादेखि नै यो संस्थाको बारेमा सुन्दै आएको हुँ। म पटक–पटक यहाँ आफ्ना बुबा डा. तेज सिंह मल्लसँग आएको छु। उहाँलाई यो संस्था अत्यन्त प्रिय थियो, र उहाँले विभिन्न तहमा बसेर संस्थाका लागि काम पनि गर्नुभएको थियो। मेरा हजुरबुबा डा. जित सिंह मल्ल यस संस्थाका संस्थापक सदस्यमध्ये एक हुनुहुन्थ्यो, साथै पहिलो महासचिव तथा दोस्रो अध्यक्ष पनि हुनुहुन्थ्यो।
आज पनि नेपाल चिकित्सक संघ जाँदा हजुरबुबाको तस्वीर देख्दा मलाई गर्व लाग्छ। त्यतिबेला एउटा भावना आउँछ, मैले पनि यो चिकित्सक समुदायका लागि केही योगदान गर्नुपर्छ। यही भावनाले गर्दा गत तीन वर्षदेखि केन्द्रीय सदस्यको रूपमा काम गर्ने अवसर पाएँ, र हालैको निर्वाचनमा सह–कोषाध्यक्षमा निर्वाचित भएर आगामी तीन वर्ष अझ जिम्मेवारीपूर्वक काम गर्ने अवसर पाएको छु।
नेपाल चिकित्सक संघ एउटा विशाल सागरजस्तै संस्था हो। यसलाई बुझ्न समय लाग्छ, मेहनत लाग्छ। तर अन्ततः यो चिकित्सकहरूको आशा र भरोसाको संस्था हो। नयाँ दर्ता भएका चिकित्सकदेखि वरिष्ठ चिकित्सकसम्म, यो संस्था सधैं चिकित्सकहरूको हकहितका लागि उभिएको छ र उभिनुपर्छ।
समयसँगै चिकित्साशास्त्रमा धेरै परिवर्तन आए, प्रविधि बदलियो, उपचार प्रणाली आधुनिक भयो। तर चिकित्सकहरूको मुख्य समस्या भने धेरै हदसम्म उस्तै छन्। आज पनि प्रमुख चुनौतीहरू: सुरक्षा, पारिश्रमिक तथा विशेषज्ञता अध्ययन र वैज्ञानिक कार्यसमय नै हुन्।
१. चिकित्सकको सुरक्षा
आज प्रायः हरेक महिना कुनै न कुनै अस्पतालमा तोडफोड, दुर्व्यवहार वा स्वास्थ्यकर्मीमाथि आक्रमण भएका खबर आउँछन्। भिडियोहरूमा केही कुरा सधैं एउटै हुन्छन्, 'लापरवाही भयो', 'हिँडेर आएको मान्छे', 'अस्पतालले मार्यो' आदि।
अन्त्यमा प्रायः अस्पतालले आर्थिक वा अन्य प्रकारको सहमति गर्छन्- बिल मिनाहा, जागिर, पढाइको जिम्मा आदि। केही समयअघि मैले एउटा समाचार पढेको थिएँ। त्यहाँ कथित लापरवाहीपछि सहमतिस्वरूप मृतक परिवारका सदस्यलाई जीवनभर निःशुल्क उपचार दिने सहमति भएको रहेछ। मलाई अचम्म लाग्यो, यदि साँच्चिकै लापरवाही भएको अस्पताल हो भने म त त्यहाँ कुनै हालतमा उपचार गराउन जाँदिनथेँ। तर यहाँ त उल्टै त्यो सुविधा सहमतिको हिस्सा बनाइएको थियो।
यस्ता सहमतिले तत्काल तनाव कम गरेजस्तो देखिए पनि दीर्घकालमा यसले अझ गलत सन्देश दिन्छ। धेरै अस्पताल आर्थिक क्षति रोक्न बाध्य भएर सहमति गर्छन्, चिकित्सकहरू सही हुँदा हुँदै पनि चुप लाग्न बाध्य हुन्छन्।
यस्ता घटनामा नेपाल चिकित्सक संघले धेरैपटक प्रहरी चौकीसम्म पुगेर दबाब दिएको छ। तर सम्बन्धित चिकित्सकहरू नै कहिलेकाहीँ सहयोग गर्न आउनुहुन्न। मुद्दा दर्ता गर्दा साथ नदिने, पछि संघले केही गरेन भन्ने प्रवृत्तिले पनि गलत सन्देश दिन्छ।
अब नेपाल चिकित्सक संघले केही स्पष्ट नीतिगत निर्णय लिनैपर्छः
• अस्पतालमा तोडफोड वा दुर्व्यवहार भएमा सहमति होइन, स्वतन्त्र छानबिन हुनुपर्छ।
• दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनअनुसार कारबाही हुनुपर्छ।
• 'आवेशमा गल्ती भयो' भन्दै सजिलै माफी दिने प्रवृत्ति बन्द हुनुपर्छ।
• यस्ता घटनाको नियमित जानकारी सदस्यहरूलाई दिनुपर्छ।
• प्रहरी प्रशासनलाई स्वास्थ्य सुरक्षा सम्बन्धी कानुनबारे अभिमुखीकरण गर्नुपर्छ।
• आमजनतालाई पनि सञ्चारमाध्यम र जनचेतनामार्फत यो कानुनबारे जानकारी दिनुपर्छ।
• अस्पतालमा हुलदंगा भएर सेवा अवरुद्ध भए, त्यस दिनको आर्थिक तथा सेवागत क्षतिको क्षतिपूर्ति व्यवस्था हुनुपर्छ।
चिकित्सकको सुरक्षा केवल चिकित्सकको मात्र विषय होइन — यो बिरामीको सुरक्षा र स्वास्थ्य सेवाको निरन्तरतासँग प्रत्यक्ष जोडिएको विषय हो।
२. चिकित्सकको पारिश्रमिक र काम गर्ने वातावरण
नेपालमा चिकित्सकहरूको पारिश्रमिकको विषय धेरै समयदेखि दबिएको समस्या हो। बाहिरबाट हेर्दा डाक्टर भएपछि आर्थिक रूपमा सुरक्षित हुन्छ भन्ने धारणा छ, तर वास्तविकता धेरै फरक छ। धेरै चिकित्सकहरूले आफ्नो जीवनको सबैभन्दा सक्रिय उमेर पढाइ, तालिम र विशेषज्ञता अध्ययनमा बिताउँछन्, तर काम सुरु गर्दा पाउने पारिश्रमिक र कार्य वातावरण भने निराशाजनक हुन्छ।
सरकारले आठौँ तहको न्यूनतम तलब तोके पनि धेरै निजी अस्पतालले त्योभन्दा कम पारिश्रमिक दिन्छन्। कतिपयमा समयमै तलब आउँदैन। अझ दुःखको कुरा, धेरै चिकित्सकहरूले सम्झौतापत्र नै नपाई महिनौँ काम गरिरहेका हुन्छन्।
आज पनि धेरै निजी अस्पतालहरूमा न्यूनतम तलबको स्पष्ट मापदण्ड लागू भएको छैन, समयमा तलब आउँदैन, सम्झौतापत्र बिना काम गराइन्छ, अतिरिक्त समय वा थप ड्युटीको कुनै हिसाब हुँदैन, र केही ठाउँमा महिनौँसम्म 'अवलोकन' वा 'स्वयंसेवा' का नाममा काम गराइन्छ।
यो केवल आर्थिक समस्या मात्र होइन, व्यावसायिक सम्मानको पनि प्रश्न हो। सरकारले न्यूनतम तलब तोक्दा पनि त्यसको अनुगमन र कार्यान्वयन कमजोर छ। अस्पताल नवीकरण गर्दा भौतिक संरचना, शय्या संख्या र उपकरण जाँच हुन्छ, तर त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिइएको छ कि छैन, समयमा भुक्तानी भएको छ कि छैन भन्ने विषयलाई गम्भीर रूपमा मूल्यांकन गरिँदैन।
अब नेपाल चिकित्सक संघले केवल आन्दोलन गर्ने मात्र होइन, प्रणाली सुधारमा नेतृत्व लिनुपर्छ।
आवश्यक सुधारहरू
. सम्झौता प्रणालीमा एकरुपता
. बैंकिङ प्रणालीमार्फत पारिश्रमिक
. अस्पताल नवीकरणमा मानव स्रोत परीक्षण
. परामर्श शुल्कको मापदण्ड निर्धारण
. युवा चिकित्सक सहयोग कक्ष
३. स्पेशलाइजेसन र साइन्टिफिक ड्युटी आवर
रेजिडेन्सी भनेको केवल सिकाइ र जागिरको तयारी मात्र होइन, अनुसन्धानमा संलग्न हुने अवसर, अनुदान प्राप्त गर्ने सम्भावना तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो काम प्रस्तुत गर्ने अवसर पनि हो। हाम्रो रेजिडेन्सी प्रणाली अझै धेरै हदसम्म परम्परागत र पुरानो शैलीको छ। यसलाई समयअनुसार प्रविधिसँग जोडेर, प्रविधिमैत्री सिकाइ र आधुनिक पाठ्यक्रममा रूपान्तरण गर्न आवश्यक छ।
एक जना चिकित्सकले एमबीबीएस सकेपछि विशेषज्ञता अध्ययन गर्न प्रवेश परीक्षा तयारी, आर्थिक दबाब, अनिश्चित भविष्य, पारिवारिक अपेक्षा तथा सीमित सिटजस्ता धेरै चुनौती सामना गर्नुपर्छ। वर्षमा एउटा मात्र प्रवेश परीक्षा हुँदा असफल उम्मेदवारको पूरा एक वर्ष प्रभावित हुन्छ। त्यसैले वर्षमा कम्तीमा दुई पटक प्रवेश परीक्षा हुने व्यवस्था गर्न नेपाल चिकित्सक संघले पहल गर्न जरुरी छ।
रेजिडेन्सी तालिम कि शोषण?
रेजिडेन्सी तालिम कठिन हुनु स्वाभाविक हो। तर कठिन तालिम र अमानवीय व्यवहार एउटै कुरा होइनन्।
आज पनि धेरै रेजिडेन्ट चिकित्सकहरू ३६–४८ घण्टा लगातार ड्युटी, निद्राको अभाव, अपमानजनक व्यवहार, विषाक्त पदानुक्रम तथा मानसिक थकानबाट गुज्रिरहेका छन्। कतिले विषय छोडेका छन्, कति अवसादमा गएका छन्, केहीले त दुःखद निर्णयसमेत लिएका घटनाहरू विश्वभर देखिएका छन्। हामीले एउटा कुरा स्वीकार गर्नैपर्छ- 'पीडा शिक्षण विधि होइन।'
हामीले दुःख गरेर पढ्यौँ भन्दैमा अर्को पुस्तालाई पनि त्यही पीडा हस्तान्तरण गर्नु व्यावसायिक संस्कार होइन। हामीले गर्नुपर्ने आवश्यक सुधारहरू यस्ता हुनुपर्छः
१. कार्यसमय नियमन
• ४८ घण्टाभन्दा बढी लगातार ड्युटी बन्द हुनुपर्छ।
• रात्री ड्युटीपछि अनिवार्य विश्रामको व्यवस्था हुनुपर्छ।
• थकान व्यवस्थापनलाई बिरामी सुरक्षासँग जोडेर हेर्नुपर्छ।
२. सुरक्षित गुनासो प्रणाली
३. मानसिक स्वास्थ्य सहयोग
४. सम्मानजनक शिक्षण संस्कृति
५. रेजिडेन्ट डाक्टर एसोसिएसनको भूमिका : हरेक शिक्षण अस्पतालमा कार्यसमय अनुगमन, दुर्व्यवहार व्यवस्थापन, कार्यभार समीक्षा, आवास तथा खानाको गुणस्तर मूल्यांकन गर्ने संयन्त्र हुनुपर्छ। यसको जिम्मेवारी र उत्तरदायित्व रेजिडेन्ट डाक्टर एसोसिएसनको हुनुपर्छ। जहाँ यस्तो संस्था छैन, त्यहाँ गठन गर्नुपर्छ र नेपाल चिकित्सक संघले नजिकबाट सहकार्य गर्नुपर्छ।
६. प्राध्यापक चिकित्सकहरूको अवस्था : प्राध्यापक चिकित्सकहरूका पनि आफ्नै समस्या छन्, पारिश्रमिक, कार्यभार तथा असुरक्षा। उनीहरूका लागि पनि आवाज उठाउने संस्था नेपाल चिकित्सक संघ नै हुनुपर्छ।
रेजिडेन्ट चिकित्सकहरूको पारिश्रमिक अहिले आठौँ तहमा पुगेको छ, तर प्राध्यापक चिकित्सकहरूको पारिश्रमिकमा धेरै ठाउँमा खास सुधार आएको छैन। बोलेमा सम्झौता रद्द गरिने डर अझै छ। नेपाल चिकित्सक संघले यसबारे अध्ययन गरेर समयानुकूल सम्मानजनक पारिश्रमिक संरचना विकास गर्न पहल गर्नुपर्छ।
सदस्यता र संस्थाको भविष्य
नेपाल चिकित्सक संघप्रति अझै धेरै आशा छ। सायद त्यसैले अहिले चुनाव पनि प्रतिस्पर्धात्मक बन्छन्।
संस्थाको सबैभन्दा ठूलो शक्ति सदस्यता हो। अहिलेको आजीवन सदस्यता शुल्क ३००० रुपैयाँ छ, जुन अन्तर्राष्ट्रिय स्तरमा हेर्दा धेरै कम हो। निःशुल्क सदस्यताभन्दा व्यवहारिक र लाभदायी सदस्यता प्रणाली आवश्यक छ। अहिले पनि केहीले प्रायोजित सदस्यता लिएका छन्। तर यस्तो प्रथा बन्द हुनुपर्छ। किनकि सदस्यता आजीवन सम्बन्ध हो। भविष्यमा 'मैले तिमीलाई निःशुल्क सदस्यता बनाइदिएको' भन्ने संस्कृतिले संस्थागत मर्यादा कमजोर बनाउँछ। प्रायोजित सदस्यताले अप्रत्यक्ष रूपमा निर्भरता र भ्रष्टाचारलाई पनि प्रोत्साहन गर्न सक्छ।
विशेष गरी नेपाल मेडिकल काउन्सिलमा दर्तापछि प्रारम्भिक वर्षमै सदस्यता लिन प्रोत्साहन गर्नुपर्छ। मेडिकल कलेजहरूमा अभिमुखीकरण कार्यक्रम गर्नुपर्छ। सदस्यता शुल्क चरणबद्ध हुन सक्छ- दर्तापछि १ वर्षभित्र, १–३ वर्ष, ३–५ वर्ष, ५ वर्ष तथा १० वर्षभन्दा माथिका लागि फरक–फरक दर राख्न सकिन्छ। चिकित्सक बनेको सुरुवाती १–२ वर्षमै सदस्य बनेका व्यक्तिहरू संस्थासँग दीर्घकालीन रूपमा जोडिने सम्भावना बढी हुन्छ।
आज चिकित्सकहरू बिरामी र समाजको 'पन्चिङ ब्याग' बन्न पुगेका छन्। तर त्यसैगरी नेपाल चिकित्सक संघ र यसको नेतृत्वलाई पनि चिकित्सकहरूले 'पन्चिङ ब्याग' बनाउनु हुँदैन। हामी तपाईंहरूकै लागि छौँ। हामीले काम गर्नुपर्छ, जवाफदेही हुनुपर्छ। तपाईंहरूले प्रश्न गर्नुपर्छ। तर समाधानका लागि एकअर्कासँग सहकार्य पनि गर्नुपर्छ। बलियो नेपाल चिकित्सक संघ भनेको अन्ततः बलियो चिकित्सक समुदाय हो।
(डा. तेजसु सिंह मल्ल नेपाल चिकित्सक संघका सह–कोषाध्यक्ष हुनुका साथै नेपाल नेत्र रोग विशेषज्ञ समाजका महासचिव पनि हुन्।)