सम्माननीय प्रधानमन्त्रीज्यू,
जय आयुर्वेद।
म एक आयुर्वेद चिकित्सक हुँ। यो लेख मैले मेरो लागि मात्र लेखेको होइन, तर सारा आयुर्वेद जगतका लागि हजुर आशा र भरोसा हो भनेर लेखेको हुँ। यो लेख व्यक्तिगत स्वार्थ भन्दा माथि रही विधा प्रतिको अगाध लगाबले गर्दा केही कुरा मानसपटल भन्दा टाढा जान नसकेर लेखिएको हो। जहाँ मानिसले निराशा देख्छन्- त्यहाँ मैले आशा देख्छु; जहाँ मान्छेले यहाँ केही हुँदैन कि भन्छन्- त्यहाँ मैले केही हुने सम्भावना देख्छु। यो सबै हिम्मत, उर्जा र साहस मलाई आयुर्वेदले दिलायो। आयुर्वेद चिकित्सा नेपालको मौलिक चिकित्सा पद्धति हो। आयुर्वेद प्रतिको विश्वास मलाई भन्दा केही गुणा बढी हजुरलाई नै छ भन्ने कुरामा म विश्वस्त छु, किनकि म विद्यार्थी हजुरको गर्भबाट नै आयुर्वेद अपनाएको व्यक्ति हुनुहुन्छ।
नेपालको चिकित्सा इतिहासमा आयुर्वेद केवल उपचार पद्धति मात्र नभई हाम्रो सभ्यता, संस्कृति, जीवनशैली र प्रकृतिसँग जोडिएको छ। पेट दुख्दा आमाले बनाएको ज्वानो पानी होस् या रुघा लाग्दा तुलसी स्वरस, सबैमा आयुर्वेद पाइन्छ नै। काठमाडौँ महानगरपालिकामा हजुर मेयर हुँदा सिंहदरबार वैद्यखानाको कुनै कार्यक्रममा हजुरले भन्नुभएको शब्द सम्झिन मन लाग्यो- "सुदर्शन चूर्ण र त्रिशुन ट्याब्लेटले काम राम्रो गर्छ।" त्यो सुन्दा मन फुरुङ्ग भएको थियो। हजुरलाई त आयुर्वेद प्रति प्रेम ममा भन्दा केही गुणा बढी छ भन्ने भान हजुरका अभिव्यक्तिहरू मोबाइलमा भिडियो हेर्दा लागेको थियो। हजुर प्रतिको क्रेज अझ बढ्दै गयो। बुझ्दै जाँदा थाहा पाएँ- हजुर आयुर्वेदका एक वरिष्ठ चिकित्सक तथा आयुर्वेद विभागका पूर्व महानिर्देशकका सुपुत्र हुनुहुँदो रहेछ। यो थाहा पाएपछि सम्मान अझै बढ्यो।
सम्माननीयज्यू, आयुर्वेदले स्वास्थ्यमा मात्र नभई सामाजिक मूल्य र मान्यतालाई पनि उत्तिकै महत्त्व दिएको हुन्छ। हाम्रो जस्तो मुलुक, जो कसैसँग नराम्रो हुन चाहँदैन र सहिष्णुता अपनाउन खोज्छ, यस्तो अवस्थामा मुलुकको 'सौम्य शक्ति'को रूपमा आयुर्वेदलाई प्रयोग गर्नुपर्ने समय आएको छ। सम्पूर्ण आयुर्वेद जगतले त्यति ठुलो स्थानमा आयुर्वेदलाई निष्कपट रूपमा माया गर्ने व्यक्ति र अभिभावक पाएकोमा गौरवान्वित छौँ। पढाइ सकियो, यता उपप्राध्यापकको नियुक्ति दिन केही संस्थाहरू तयार पनि छन्, तर मलाई भने आफ्नो माटोको मायाले पिरोलिरहेको छ। पढाइ सकेर दोधारमा परेको बेला हिजो सामाजिक सञ्जालबाट मन्त्रालयका साथै अन्य निकायको सांगठनिक दरबन्दी संरचना देख्दा र भएको दरबन्दी पनि काटिएको अवस्था भेटाउँदा हजुरको ध्यानाकर्षण गराउन चाहन्छु।
आयुर्वेद चिकित्सकको पद केवल एउटा दरबन्दी होइन, यो हामी जस्ता चिकित्सकका लागि सेवा प्रवेश गर्ने माध्यम हो। दक्ष जनशक्ति उत्पादन, सेवा प्रवाह, अनुसन्धान, नेतृत्व विकास र विशेषज्ञतामा पुग्ने आधारशिला हो। यस्तो आधार तहको अभावमा नवौँ र दसौँ तहका पदहरूमा योग्य तथा अनुभवी जनशक्ति तयार गर्ने प्रणाली नै कमजोर बन्ने जोखिम रहन्छ।
अध्ययनका क्रममा आफ्ना गुरुहरूबाट चिकित्सा क्षेत्रमा आयुर्वेदको अथाह सम्भावना देखेको मलाई नेपालद्वारा इन्टरनेशनल वेलनेश डे घोषणा गरिएको सुन्दा खुसी त लाग्यो, तर वेलनेश इयर २०२७ को भिजन पढ्दा हाम्रो आयुर्वेद मेरो देशमा मसाज र स्पामा मात्रै सीमित रहने त होइन भन्ने डर पनि लागेको छ। नसर्ने रोगको बोझ एकीकृत स्वास्थ्य सेवाबाट मात्र व्यवस्थापन गर्न सम्भव छ। सरकारी सेवामा आयुर्वेद क्षेत्रका जनशक्तिको अवसर पहिले देखि नै तुलनात्मक रूपमा न्यून थियो। अझ भएका दरबन्दी पनि घटाउँदा सम्पूर्ण देशको स्वास्थ्य र आयुर्वेदमा भविष्य खोज्ने विद्यार्थीमा कस्तो असर पर्ला? हाम्रो देशको मौलिक चिकित्सा पद्धतिको यति कम सहभागिता राख्दा, 'स्वस्थस्य स्वास्थ्य रक्षणं, आतुरस्य विकार प्रशमनम्' उद्देश्य राख्ने आयुर्वेद मात्रै नभएर कतै सिङ्गो देशको अर्थतन्त्रमा नै असर पर्ने त होइन? यस्ता अनेकन प्रश्नले आज मलाई सहन नसक्ने पीडा दिइरहेका छन् प्रधानमन्त्रीज्यू।
नेपाल सरकारले प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, दीर्घरोग व्यवस्थापन, प्रतिरोधात्मक स्वास्थ्य सेवा तथा स्वस्थ जीवनशैलीलाई प्राथमिकतामा राखिरहेको वर्तमान सन्दर्भमा आयुर्वेदको भूमिका अझ प्रभावकारी बन्न सक्छ। विशेष गरी नसर्ने रोग, मानसिक स्वास्थ्य, वृद्धवृद्धाको स्वास्थ्य, पोषण तथा जीवनशैली व्यवस्थापनमा आयुर्वेदले लागत-प्रभावी र दिगो समाधान प्रदान गर्न सक्ने क्षमता राख्दछ।
आयुर्वेदमा हिमालय क्षेत्रलाई औषध द्रव्य उत्पादनका लागि श्रेष्ठ भूमि मानिएको छ। विश्वमै पहिलो सिम्पोजियम आयुर्वेदका विद्वान्हरूको नेपालकै हिमालय खण्डमा भएको विश्वास गरिन्छ। आयुर्वेदमा बालरोग तथा प्रसूतितन्त्रको विस्तार गर्ने आचार्य कश्यपको जन्म नेपालकै कास्की जिल्लामा भएको कुरा पनि यहाँलाई अवगत नै होला। आयुर्वेद तथा वृक्ष विज्ञानका शोधकर्ताका अनुसार हाम्रा हिमालमा अझै पनि अनेकौँ लोपोन्मुख, वयस्थापक एवं जीवनीय जडीबुटी र खनिज द्रव्य पाउन सकिन्छ। नेपालको पुरातत्त्व विभाग, पुस्तकालय र अनेकौँ पारम्परिक वैद्य तथा पुरोहितको व्यक्तिगत सङ्ग्रहमा भएका पाण्डुलिपिहरूमा लुकेका आयुर्वेदका गूढ रहस्यहरू राष्ट्रका सम्पदा हुन्। हामीले पनि हाम्रा यस्ता बलिया पक्षहरूमा पहल गरी, शोध-अनुसन्धान गरेर विश्वमा आफ्नो अलग्गै पहिचान गराउने सही समय अहिले नै हो।
आज विश्वभर परम्परागत चिकित्सा प्रणालीप्रति आकर्षण बढ्दो क्रममा छ। भारतले 'आयुष' प्रणालीमार्फत आफ्नो सांस्कृतिक कूटनीति विस्तार गरिरहेको छ। चीनले परम्परागत चिनियाँ चिकित्सालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरिरहेको छ। कोरिया, जापान र थाइल्यान्डले पनि आफ्ना मौलिक स्वास्थ्य प्रणालीलाई राष्ट्रिय ब्रान्डका रूपमा विकास गरेका छन्। नेपालसँग पनि आफ्नै विशिष्ट अवसर छ। यसले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, जडीबुटी उद्योगको विकास, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। पुनश्च, आयुर्वेद आरोग्य ल्याउने सूत्र मात्र होइन, उपचारात्मक रूपमा पनि उत्तिकै सम्भावना बोकेको क्षेत्र हो।
अन्तमा, सम्माननीयज्यू, आयुर्वेद स्वास्थ्य सेवाका साथै नेपालको सौम्य शक्तिको एक महत्त्वपूर्ण आधार हो। नेपालको सांस्कृतिक पहिचान, कूटनीतिक प्रभाव, स्वास्थ्य पर्यटन तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा आयुर्वेदले दीर्घकालीन योगदान दिन सक्छ। यसलाई नीति निर्माण गर्ने स्थानमा एक दरबन्दीमा मात्र सीमित नगरियोस्। यो नेपालको मौलिक ज्ञान, सांस्कृतिक सम्पदा, जनस्वास्थ्य, जैविक सम्पदा र राष्ट्रिय गौरवसँग जोडिएको विषय हो। आज लिइने सही नीतिगत निर्णयले हामी जस्ता भावी पुस्तालाई सुदृढ आयुर्वेद प्रणाली हस्तान्तरण गर्न सक्नेछ। हामी तपाईंको दूरदर्शी नेतृत्वमा आयुर्वेद क्षेत्रले नयाँ ऊर्जा, सम्मान र संस्थागत सुदृढीकरण प्राप्त गर्ने अपेक्षा राख्दछौँ।
धन्यवाद।
- एक आयुर्वेद चिकित्सक