नेपालको स्वास्थ्य सेवा क्षेत्र अहिले एउटा महत्वपूर्ण संक्रमणकालीन चरणमा छ। एकातर्फ निजी अस्पताल, विशेषज्ञ क्लिनिक तथा निदान केन्द्रहरूको संख्या तीव्र रूपमा बढिरहेको छ भने अर्कोतर्फ बिरामीका अपेक्षा, व्यवहार र निर्णय प्रक्रिया पनि परिवर्तन भइरहेको छ। स्वास्थ्य सेवा अब केवल उपचार प्रदान गर्ने क्षेत्र मात्र रहेन; यो विश्वास, अनुभव, प्रविधि र संस्थागत प्रतिष्ठाको प्रतिस्पर्धी क्षेत्रमा रूपान्तरण हुँदै गएको छ।
केही वर्षअघिसम्म बिरामीले मुख्यतः नजिकको अस्पताल वा चिकित्सकको सिफारिसका आधारमा उपचार केन्द्र छनोट गर्थे। आजको बिरामी भने अस्पताल पुग्नुअघि नै इन्टरनेटमा खोजी गर्छ, सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्छ, चिकित्सकको प्रोफाइल अध्ययन गर्छ र विभिन्न अस्पतालबीच तुलना गर्छ। यस्तो परिवेशमा स्वास्थ्य सेवा संस्थाहरूको सफलता केवल भवन, उपकरण वा चिकित्सकको संख्याले निर्धारण गर्न सक्दैन।
सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण एउटा बिरामीको अनुभव सयौँ वा हजारौँ मानिससम्म पुग्न सक्छ। त्यसैले अस्पतालको प्रतिष्ठा अब विज्ञापनले मात्र निर्माण हुँदैन; वास्तविक बिरामी अनुभवले त्यसलाई निर्माण र सुदृढ गर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी, सुरक्षित र व्यक्ति केन्द्रित हुनुपर्छ। बिरामीको आवश्यकता, अनुभव र विश्वासलाई केन्द्रमा राखेर सेवा प्रदान गर्न सक्ने संस्थाहरू नै दीर्घकालीन रूपमा सफल हुनेछन्।
बढ्दो प्रतिस्पर्धा र फरक पहिचानको चुनौती
नेपालका प्रमुख सहरी क्षेत्र (काठमाडौं, पोखरा, चितवन, विराटनगर, बुटवल र नेपालगञ्ज)लगायतका स्थानमा अस्पताल तथा स्वास्थ्य संस्थाहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। निजी लगानीको विस्तारले स्वास्थ्य सेवामा पहुँच बढाएको भए पनि यसले अस्पतालहरूबीच तीव्र प्रतिस्पर्धा सिर्जना गरेको छ।
धेरै अस्पतालका विज्ञापन हेर्दा एउटै प्रकारका सन्देश दोहोरिएको पाइन्छ- ‘आधुनिक प्रविधि’, ‘अनुभवी चिकित्सक’ र ‘गुणस्तरीय सेवा’। तर जब सबैले एउटै कुरा भन्छन्, बिरामीले कसलाई विश्वास गर्ने?
यहीँबाट विशिष्ट पहिचान निर्माणको आवश्यकता सुरु हुन्छ।
विश्वका सफल स्वास्थ्य संस्थाहरूले आफूलाई विशिष्ट सेवासँग जोडेर आफ्नो पहिचान बनाएका छन्। कसैले मुटुसम्बन्धी सेवामा, कसैले क्यान्सर उपचारमा त कसैले मातृ तथा शिशु स्वास्थ्यमा विशेषज्ञता विकास गरेका छन्। नेपालमा पनि अब ‘सबै सेवा दिने अस्पताल’ भन्दा ‘कुन सेवामा उत्कृष्टता हासिल गर्ने अस्पताल?’ भन्ने प्रश्न बढी महत्वपूर्ण बन्दै गएको छ।
स्वास्थ्य सेवामा नयाँ मानक : विश्वास
स्वास्थ्य क्षेत्र अन्य व्यवसायभन्दा फरक छ। बिरामीले अस्पतालबाट कुनै वस्तु मात्र खरिद गर्दैन; उसले आफ्नो स्वास्थ्य र कतिपय अवस्थामा जीवनकै जिम्मेवारी स्वास्थ्य संस्थालाई सुम्पन्छ।
त्यसैले स्वास्थ्य सेवा क्षेत्रमा सबैभन्दा मूल्यवान सम्पत्ति भवन वा उपकरण होइन, विश्वास हो।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्य प्रणालीलाई रोग केन्द्रित मात्र नभई व्यक्ति केन्द्रित बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ। बिरामीलाई केवल रोगको रूपमा होइन, सम्पूर्ण व्यक्तिका रूपमा बुझेर सेवा प्रदान गर्नुपर्ने अवधारणा अहिले विश्वव्यापी स्वास्थ्य व्यवस्थापनको केन्द्रमा छ।
नेपालमा पनि बिरामीले उपचारको परिणामसँगै उपचार प्रक्रियाको अनुभवलाई महत्व दिन थालेका छन्।
- अस्पताल प्रवेश गर्दा कस्तो व्यवहार गरियो?
- आवश्यक जानकारी स्पष्ट रूपमा दिइयो कि दिइएन?
- प्रतीक्षा समय कति थियो?
- शुल्क तथा उपचार खर्चबारे पर्याप्त पारदर्शिता थियो कि थिएन?
- उपचारपछि आवश्यक फलोअप गरियो कि गरिएन?
यी सबै पक्षले अस्पतालप्रतिको बिरामीको धारणा निर्माण गर्छन्। राम्रो उपचारसँगै सम्मानजनक व्यवहार, स्पष्ट सूचना, सहज सेवा र पारदर्शिता सुनिश्चित गर्न सक्ने संस्थाले नै दीर्घकालीन विश्वास आर्जन गर्न सक्छ।
डिजिटल युगमा स्वास्थ्य सेवा
आजको बिरामी अस्पताल पुग्नुभन्दा धेरैअघि नै डिजिटल संसारमा प्रवेश गरिसकेको हुन्छ। उसले गुगलमा खोज्छ, सामाजिक सञ्जालमा प्रतिक्रिया हेर्छ, युट्युब वा टिकटकमा स्वास्थ्यसम्बन्धी सामग्री हेर्छ र चिकित्सकको प्रोफाइल तथा विशेषज्ञता अध्ययन गर्छ। तर नेपालका धेरै स्वास्थ्य संस्थाहरू अझै पनि डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि देखिन्छन्।
अझै पनि धेरै अस्पतालमा निम्न अभाव छन् :
- नियमित रूपमा अद्यावधिक हुने वेबसाइट छैन,
- अनलाइन भेटघाट तथा समय लिने प्रणाली सीमित छ,
- खोज इन्जिनमा सहजै भेटिने रणनीतिक व्यवस्था छैन,
- बिरामी शिक्षासम्बन्धी डिजिटल सामग्री उत्पादन न्यून छ,
- डिजिटल बिरामी सम्बन्ध व्यवस्थापन प्रणालीको अभाव छ।
जबकि स्वास्थ्य क्षेत्रको भविष्य डिजिटल स्वास्थ्यसँग गहिरो रूपमा जोडिँदै गएको छ।
नेपाल सरकारले पनि दूरचिकित्सा तथा डिजिटल स्वास्थ्य प्रणालीलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका डिजिटल स्वास्थ्यसम्बन्धी पहलहरूले प्रविधिको माध्यमबाट विशेषज्ञ स्वास्थ्य सेवा दुर्गम क्षेत्रसम्म पुर्याउने प्रयास गरिरहेका छन्।
यसले एउटा स्पष्ट सन्देश दिन्छ, भविष्यको स्वास्थ्य सेवा भौतिक र डिजिटल दुवै माध्यमको संयोजनमा आधारित हुनेछ।
स्वास्थ्य पर्यटन : सम्भावना ठूलो, रणनीति कमजोर
विश्व स्वास्थ्य पर्यटनको क्षेत्र निरन्तर विस्तार भइरहेको छ। उपचारको गुणस्तर, लागत र पहुँचका आधारमा बिरामीहरू देशको सीमापार गरेर स्वास्थ्य सेवा लिन जाने क्रम बढिरहेको छ। नेपालसँग यस क्षेत्रमा उल्लेखनीय सम्भावना छ।
हामीसँग निम्न पक्ष कमी देखिन्छन् :
- दक्ष चिकित्सक,
- तुलनात्मक रूपमा कम उपचार लागत,
- प्राकृतिक वातावरण,
- पर्यटनका आकर्षक गन्तव्य,
- दक्षिण एसियाका विशाल बजारसँगको भौगोलिक निकटता
- जस्ता महत्वपूर्ण आधार छन्।
- विशेषगरी दन्त चिकित्सा, हाडजोर्नी तथा अर्थोपेडिक सेवा, पुनर्स्थापना चिकित्सा, स्वास्थ्य तथा तन्दुरुस्ती सेवा र केही विशेषज्ञ शल्यक्रिया सेवामा नेपालले क्षेत्रीय स्तरमा अवसर सिर्जना गर्न सक्छ।
- तर वास्तविकता के हो भने नेपाल अझै अन्तर्राष्ट्रिय स्वास्थ्य सेवाको विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुन सकेको छैन।
- यसका प्रमुख कारणमा:
- अन्तर्राष्ट्रिय स्तरको संस्थागत पहिचानको अभाव,
- अस्पताललाई प्राप्त हुने अन्तर्राष्ट्रिय मान्यता सीमित हुनु,
- विदेशी बिरामीलाई लक्षित सेवा प्रणाली कमजोर हुनु,
- अन्तर्राष्ट्रिय डिजिटल उपस्थितिको कमी
यदि निजी क्षेत्र, पर्यटन क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय हुन सके नेपालले स्वास्थ्य पर्यटनलाई नयाँ आर्थिक अवसरमा रूपान्तरण गर्न सक्छ।
गुणस्तर सुधार मात्रै विकल्प होइन
नेपालको स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर सुधार, स्वास्थ्य बीमाको विस्तार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका प्रयास अघि बढिरहेका छन्। विश्व बैंकलगायतका विकास साझेदारले पनि नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर सुधार तथा प्रणालीगत सुदृढीकरणमा सहयोग गरिरहेका छन्।
यसले एउटा महत्वपूर्ण संकेत दिन्छ, भविष्यको स्वास्थ्य क्षेत्रको प्रतिस्पर्धा केवल भवन निर्माण वा उपकरण थप्ने विषय होइन; गुणस्तर निर्माण र त्यसको निरन्तर सुधारको विषय हो।
जुन अस्पतालले आफ्नो सेवाको गुणस्तर नियमित रूपमा मापन गर्छ, बिरामीको अनुभव सुन्छ, कमजोरी पहिचान गर्छ, सेवा सुधारलाई निरन्तर प्रक्रियाका रूपमा लिन्छ र डिजिटल नवप्रवर्तनलाई अपनाउँछ, त्यही संस्थाले भविष्यमा नेतृत्व गर्ने सम्भावना बढी हुन्छ।
आगामी दशकका पाँच प्राथमिकता
नेपालका अस्पतालहरूले आगामी दशकको प्रतिस्पर्धाका लागि कम्तीमा पाँच प्रमुख क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ।
पहिलो, बिरामी केन्द्रित सेवा संस्कृतिको निर्माण। बिरामीलाई सेवाको केन्द्रमा राख्दै सम्मानजनक व्यवहार, स्पष्ट सूचना, सहज पहुँच र प्रभावकारी गुनासो व्यवस्थापन सुनिश्चित गर्नुपर्छ।
दोस्रो, डिजिटल स्वास्थ्य तथा अनलाइन बिरामी यात्राको विकास। अनलाइन समय लिने व्यवस्था, डिजिटल परामर्श, परीक्षणको प्रतिवेदन प्राप्त गर्ने सुविधा, फलोअप तथा सूचना प्रवाहलाई प्रविधिसँग जोड्नुपर्छ।
तेस्रो, विशेषज्ञतामा आधारित संस्थागत पहिचान निर्माण। सबै प्रकारका सेवा प्रदान गर्ने प्रयाससँगै निश्चित क्षेत्रमा उत्कृष्टता हासिल गरी त्यसलाई संस्थाको विशिष्ट पहिचान बनाउन आवश्यक छ।
चौथो, पारदर्शिता र विश्वासमा आधारित सेवा प्रणाली। उपचार प्रक्रिया, सम्भावित जोखिम, शुल्क, सेवा अवधि तथा फलोअपसम्बन्धी जानकारी बिरामी र परिवारलाई स्पष्ट रूपमा उपलब्ध गराउनुपर्छ।
पाँचौँ, निरन्तर बिरामी प्रतिक्रिया र गुणस्तर सुधारको संयन्त्र। बिरामीले दिएको प्रतिक्रियालाई केवल गुनासोका रूपमा नभई सेवा सुधारको महत्वपूर्ण स्रोतका रूपमा लिनुपर्छ।
यी पाँच आधार स्वास्थ्य सेवा बजार प्रवर्द्धनका साधारण उपकरण मात्र होइनन्; यिनै भविष्यका अस्पतालहरूको वास्तविक प्रतिस्पर्धात्मक क्षमता हुन्।
अब प्रतिस्पर्धा विश्वासको
नेपालको स्वास्थ्य सेवा क्षेत्र आज महत्वपूर्ण मोडमा उभिएको छ। अस्पतालहरूको संख्या बढिरहेको छ, बिरामीका अपेक्षा परिवर्तन भइरहेका छन्, डिजिटल प्रविधिले सेवा प्रवाहको स्वरूप बदलिरहेको छ र गुणस्तरप्रतिको सचेतना निरन्तर बढ्दै गएको छ।
अब अस्पतालहरूको सफलता केवल अत्याधुनिक उपकरण, ठूलो भवन वा विज्ञापन बजेटले निर्धारण गर्ने छैन। भविष्यमा सफल ती संस्थाहरू हुनेछन्, जसले उपचारसँगै विश्वास निर्माण गर्नेछन्, बिरामीको अनुभवलाई प्राथमिकता दिनेछन् र आफूलाई स्वास्थ्य सेवा प्रदायक मात्र नभई विश्वसनीय स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्नेछन्।
स्वास्थ्य सेवा क्षेत्रमा अब नयाँ प्रतिस्पर्धा सुरु भएको छ, उपचारको मात्र होइन, विश्वासको।
(लेखक अधिकारी स्वास्थ्य व्यवस्थापन तथा स्वास्थ्य सेवा मार्केटिङ विशेषज्ञ हुन्)