काठमाडौं- चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनको माग गर्दै आएका प्रा.डा. गोविन्द केसीले आफ्ना मागहरू पूरा गर्न सरकारलाई दुई दिनको थप अल्टिमेटम दिएका छन्।
दसैँको बिदाका कारण सरकारलाई मागहरू सम्बोधन गर्न समय प्राप्त होस् भनेर यसअघि दिइएको सात दिने अल्टिमेटमको समय सीमा दुई दिन थप गरिएको उनले जनाएका छन्।
थपिएको दुई दिनको अवधिभित्र पनि मागहरू पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रमहरू सुरु गर्न बाध्य हुने चेतावनी डा. केसीले दिएका छन्।
यसअघि उनले कार्तिक २ गते सात दिनको अल्टिमेटम दिएका थिए। थपिएको समयसीमाभित्र पनि मागहरू पूरा नभए सत्याग्रहलगायतका कडा आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी उनले दिएका छन्। साथै, त्यसबाट उत्पन्न हुने विषम परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार आफैँले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
यस्ता छन् डा केसीका माग
१. न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेको अवस्थामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल खारेज गरियोस्। साथै नेपाली आर्मी मेडिकल कलेज र विभिन्न शिक्षण संस्थाहरूमा सिट वृद्धि गर्ने लगायतका निर्णय तुरुन्त बदर गरियोस्।
२. निर्णय प्रक्रियामा संलग्न आयोग तथा विश्वविद्यालयका पदाधिकारीहरूको भूमिकामाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस् । प्रथमत: ती संस्थाका अयोग्य र स्वार्थको द्वन्द्व देखिएका पदाधिकारीहरूलाई तुरुन्त बर्खास्त गरियोस्।
३. दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयलाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गरी आवश्यक मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गरियोस्।
४. २०८३ साउन ११ गते सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन गरियोस्।
प्रेस विज्ञप्ति
विषय: मागहरू पूरा गर्न सरकारलाई दिइएको अल्टिमेटमको अवधि दुई दिन थपिएको सम्बन्धमा।
आदरणीय दाजुभाइ तथा दिदीबहिनी एवम् पत्रकार मित्रहरू,
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, जबाफदेहिता, सुशासन तथा सामाजिक न्यायका पक्षमा उठाइएका मागहरूमाथि सरकारको बेवास्ता र प्रहारविरुद्ध सत्याग्रहसहितको आन्दोलनका लागि २०८३ कार्तिक २ मा दिइएको सात दिने अल्टिमेटम अवधिमा दसैँको बिदा परेकाले सरकारलाई मागहरू सम्बोधन गर्न थप दुई दिनको समय दिइएको छ।
उक्त अवधिभित्र मागहरू पूरा नभए सत्याग्रह सहितका आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने जानकारी गराउँदछु। त्यसबाट उत्पन्न हुने विषम परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्नेछ।
डा. गोविन्द केसी
काठमाडौं
९ कात्तिक, २०८३