डा. विशाल ज्ञवाली, जापान (क्यान्सरमा डिएम अध्ययनरत)
नेपाल र जापानको स्वास्थ्य सेवामा के—कस्तो भिन्नता पाउनुभयो ?
यी दुई देशबीच धेरै नै भिन्नता छ। जापानको स्वास्थ्य सेवाको मुख्य विशेषता स्वास्थ्य बिमा हो। जापान सरकारले सबै व्यक्तिका लागि बिमाको व्यवस्था गरेको छ। सरकारले नै यो कार्यक्रम चलाएकाले यहाँका जनतालाई स्वास्थ्य सेवा पाउन धेरै कठिनाई भोग्नुपर्दैन। तर नेपालमा भर्खरै स्वास्थ्य बिमाको अवधारणा आइरहेको अवस्थामा ठ्याक्कै यस्तै हुन्छ भन्न सकिदैन। तर पनि सामान्य चिकित्सा प्रणालीको कुरा गर्दा पनि जापानमा अत्याधुनिक प्रणालीबाट नै संञ्चालित हुन्छ। यहाँ रिसर्चले ठूलो भूमिका खेल्छ र त्यही अनुरुपको चिकित्सालाई अबलम्वन गरिन्छ जुन नेपालमा एकदम नै कम हुन्छ।
नेपालमा स्वास्थ्य बिमा कार्यक्रमका लागि जापानबाट पाठ के हुन सक्छ ?
मैले बुझेअनुसार स्वास्थ्य बिमा नीति पनि बनेको छ। तर यसलाई मैले हेरेको छैन। संसारमा स्वास्थ्य बिमा चार प्रकारका छन्। एउटा जापानी प्रणाली, जसमा सरकार र जनता मिलेर पैसा तिर्छन्। अर्को व्रिटिस प्रणाली, जसमा सरकारले शतप्रतिशत बेहोर्छ। अर्को अमेरिकी प्रणाली हो, जसलाई संसारकै नराम्रो प्रणाली मानिन्छ। यहाँ सबै निजी क्षेत्रले बेहोर्छ। तर जनताले भनेजस्तो राम्रो सेवा पाउन एकदम नै मुस्किल छ। नेपालमा निजी क्षेत्रले पनि यसमा चासो देखाएको विषय एकदम नै नराम्रो हो। किनभने निजी क्षेत्रको मुख्य ध्येय नाफा कमाउनु हुन्छ। यसले जनताको स्वास्थ्य सेवा प्रवाहमा सम्झौता गर्ने संभावना प्रबल हुन्छ। यसर्थ नेपालमा सरकारले कति तिर्ने र जनताले कति तिर्ने भन्ने कुरामा प्रष्ट हुनुपर्छ।
नेपालको क्यान्सर केयरको तुलनामा जापानमा कस्तो पाउनु भएको छ ?
क्यान्सरमा सबैभन्दा महत्वपूर्ण पाटो निरोधात्मक प्रणाली नै हो। यसका लागि मास स्क्रिनिङ र जनचेतना महत्वपूर्ण पक्ष हो। नेपालले यसतर्फ पनि जनचेतना अभिबृद्धि गर्नु जरुरी छ। उपचार प्रणालीको कुरा गर्ने हो भने नेपालमा भर्खर नै बोनम्यारो प्रत्यारोपण प्रयास शुरु भएको छ। यो एकदम नै सकारात्मक पक्ष हो। साथै अन्य अत्याधुनिक उपचार र परीक्षण सेवा पनि विस्तारै विकास हुँदैछ। तर पनि नेपाल अझै पनि जापानको तुलनामा आउन निकै गाह्रो छ। जापानमा सबैभन्दा धेरै क्यान्सर रोगले ग्रस्त जनता छन्। तसर्थ जापान सरकारले क्यान्सर उपचारकोे विकासमा एकदम धेरै लगानी गरेको छ र यहाँको प्रणाली संसारकै उत्कृष्ट प्रणाली हो। सरकारले क्यान्सरमा उपचारात्मक र निरोधात्मकमा लगानी बढाउनु पर्छ।
क्यान्सर केयरमा नेपालले सिक्न सक्ने कुरा के हुन सक्छ ?
नेपालले सिक्न सक्ने महत्वपूर्ण कुरा केमोथेरापीको उपचार हो। जापानमा केमोथेरापीको प्रयोग गरिरहेका व्यक्तिहरु घरबाट नै अस्पताल आउँछन्, उपचार गर्छन् र पुनः घर फर्किन्छन्। तर नेपालमा भने केमोथेरापीका बिरामीलाई अस्पताल नै बस्नुपर्ने बाध्यता छ। साथै मल्टिनेशनल कम्पनीको नेपाल शाखामार्फत् पनि ‘लो प्राइस एडिसन ड्रग्स्’ को कन्सेप्टका आधारमा पनि नेपालमा क्यान्सरका ड्रग्स सस्तोमा पाउन सकिन्छ। नेपालमा पनि क्यान्सरको बिरामीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ र उत्कृष्ट सेवाको खाँचो अत्यन्त जरुरी छ। पहिलो स्टेजमै क्यान्सर पत्ता लगाइ उपचार गर्न जनतालाई शिक्षा दिने र रोगै लाग्न नदिन जनचेतनाको स्तर बढाउनुपर्छ।
अध्यात्म र स्वास्थ्य सेवाको के सम्बन्ध हुन सक्ला ?
म अध्यात्ममा विश्वास गर्छु। यसको स्वास्थ जीवनसँग गहिरो सम्बन्ध छ। वेद, भागवतगीता, उपनिषद्हरु पढें, साथै बौद्ध ग्रन्थ पनि पढेको छु। मलाई के लाग्छ भने शरीर, आत्माको उन्नत्तिको लागि एउटा माध्यम हो। अध्यात्मले राम्रो बानीको विकास गर्न मद्दत गर्छ र यसले शरीरलाई प्रत्यक्ष राम्रो गर्न मद्दत पु¥याउँछ।
तपाई किन विदेश जानुभयो?
म यहाँ पिएचडी (डिएम) गर्नका लागि आएको हँु। मेरो पढाई २०१७ मा पूरा हुन्छ। त्यसपछि पुनः नेपाल नै फर्किन्छु। विशेषगरी नेपालमा मैले अहिले गर्न सक्ने भनेको यहाँ सिकेको कुरा त्यता बाँड्ने र त्यताको अनुभवबाट यता पनि सिक्ने। साथै क्यान्सरको निदानात्मक प्रचारप्रसारमा पनि मेरो भूमिका उत्तिकै हुन सक्छ।
नेपालमा हेल्थ टुरिजमको संभावना कस्तो देख्नु भएको छ ?
हेल्थ टुरिजमको संभावना भएको धेरै कम देशमध्ये नेपाल पनि एक हो। जापानमा हेल्थ टुरिजमको सम्भावना धेरै कम छ किनभने यहाँ भाषाको समस्या छ। तर, नेपालमा त्यस्तो समस्या छैन। अङग्रेजी धेरैले बुझ्न सक्छन् र यहाँको स्वास्थ्य सेवा एकदम नै सस्तो छ। तसर्थ हामीले क्यास गर्न सक्ने क्षेत्र यिनै हुन्। साथै बिरामीसँग आउने मान्छेका लागि पनि घुमौं भन्दा राम्रा ठाउँ प्रशस्त छन्। तर यसका लागि नेपालले उत्कृष्ठ सेवाको प्रत्याभुति भने दिन सक्नुपर्छ। म निजी क्षेत्रको विकासलाई पनि राम्रो मान्छु। तर महत्वपूर्ण कुरा सरकारी अस्पतालको विकासमा जोड दिनुपर्छ अर्थात् हाम्रा वीर तथा टिचिङ्ग अस्पताललाई सबल र उत्कृष्ठ बनायौं भने हेल्थ टुरिजमको विकासमा यिनीहरुको महत्वपूर्ण भूमिका हुनसक्छ।
विदेश गइसकेपछि डाक्टरहरु नेपाल नफर्कनुको कारण चाहिँ के होला ?
मुख्य कुरा त नेपालको काम गर्ने वातावरण हो, जुन धेरै निरुत्साहित गर्ने खालको छ। अर्को कुरा चाहिँ पैसा हो। बाहिर डाक्टरहरुले धेरै नै कमाउन सक्छन्। नेपालमा भने त्यति कमाउन गाह्रो हुन सक्छ। तर पनि राम्रो वातावरण बनाउन सके र राजनीतिक स्थायीत्व भएको अवस्थामा भने नेपाल फर्कन चाहनेहरु धेरै छन्।