एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो भने हामीलाई झोँक चल्ने गर्छ । तर, कतिपय गल्ती यस्ता पनि छन्, जसले मानव जीवनलाई सहज बनाउने काम गरेका छन् । गल्तीका कारण भएका केही आविष्कार यस्ता छन्ः
पेनिसिलिन
वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङ घाउ भर्ने औषधिको आविष्कार गर्न तल्लीन थिए । तर, जति प्रयोग गर्दा पनि भनेजस्तो नतिजा निस्किएन । यसबाट वाक्क भएर एक दिन उनले प्रयोग गरेका वस्तु बाहिर हुत्याइदिए । केही दिनपछि हेरेको त यसरी फ्याँकेका वस्तु वरिपरिका सबै ब्याक्टेरिया समाप्त भएका रहेछन् । यसरी पेनिसिलिनको आविष्कार भयो ।
एक्स–रे
सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलियम रोएङ्टगनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन् । उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका थिए । कामकै सिलसिलामा ट्युबबाट आएको ज्योति अपारदर्शी कपडामा ठोक्किएको उनले देखे । त्यतिबेला उनको आश्चर्यको सीमा रहेन जतिबेला उनले ट्युबबाट निस्किएको ज्योतिको सहायताले अपारदर्शी कपडापछाडि राखिएका कागज बाहिरबाटै देखे । यसरी एक्स–रेको आविष्कार भयो र शरीरभित्रका अंगको अध्ययनमा यसले ठूलो क्रान्ति ल्याइदियो ।