दूध स्वास्थ्यका लागि फाइदाजनक त हो नै, यसले मुटुका लागिसमेत फाइदा पुग्ने नयाँ अनुसन्धानले देखाएको छ । डेनमार्कस्थित युनिभर्सिटी अफ कोपेनहेगेनका अनुसन्धानकर्ताको समूहले चिल्लो ननिकालिएको शुद्ध दुध (होल मिल्क) ले रगतमा असल कोलेस्टेरोल (एचडिएल) को मात्रा बढाउने तथ्य पहिल्याएका हुन् ।
उच्च कोलेस्टेरोल मुटु, स्ट्रोक तथा नशाका लागि कारक मानिन्छ । यी समस्या पहिचान नभए या समयमै उपचार नभए जीवनकै लागि खतरनाक मानिन्छन् । असल कोलेस्टेरोलले रगतको धमनीबाट खराब कोलस्टेरोललाई हटाई कलेजोतर्फ पठाइदिन्छ र त्यहाँबाट शरीरबाट बाहिर निस्कन्छ ।
यसअघि ‘होल मिल्क’ भन्दा चिल्लो पदार्थ निकालिएको दूधमात्र स्वस्थ हुने मान्यता मानिसमा थियो । तर अनुसन्धानकर्ताहरुले होल मिल्क चिल्लो निकालिएकोजत्तिकै स्वस्थ हुने उल्लेख गरेका छन् । अनुसन्धानमा भनिएको छ, ‘दुग्धजन्यपदार्थ सेवन र मुटुको रोगमा कुनै सम्बन्ध छैन, बरु होल मिल्कलाई स्वस्थबद्र्धक पेयको रुपमा लिन सकिन्छ ।’ अनुसन्धानका क्रममा मानिसहरुलाई दैनिक आधालिटर दुवै खालका दूध दिइएको थियो । त्यसपछि दूधले उनीहरुको एलडिएल र एचडीएल कोलेस्टेरोल दुवै जाँचिएको थियो । यो अध्ययनको नतिजा ‘युरोपियन जर्नल अफ क्लिनिकल न्युट्रिसन’ मा प्रकाशित छ ।