काठमाडौं– मानिसको शरीर तीन प्रकारको हुन्छ– एक्टोमर्फ, मेसोमर्फ र एन्डोमर्फ । एक्टोमर्फ टाइपको शरीर हुनेहरू दुब्ला हुन्छन् र उनीहरूको शरीरको हड्डी पनि सानो हुन्छ । यस्ता शरीर भएकाहरूले फिट्नेस सेन्टर ज्वाइन गर्नुअघि तौल बढाउने डाइट खानुपर्ने हुन्छ । शरीरमा चाहिने जति तौल भएन भने जिम गरेरमात्र शरीर आकर्षक देखिँदैन । त्यसैले दुब्ला व्यक्तिले जिम जानुभन्दा अघि फिट्नेस एक्सपर्टसँग परामर्श गरेर कति तौल बढाउने र शारीरिक अभ्यास कहाँबाट सुरु गर्ने निधो गर्नुपर्छ।
मेसोमर्फ टाइपको शरीर हुनेहरूको हड्डी ठूलो हुन्छ । बनावटको हिसाबले यस्तो शरीर भएकालाई आकर्षक मान्छेको सूचिमा राखिन्छ । यस्तो शरीर भएकाले थोरै मेहनत गरेर पनि आफ्नो शरीर आकर्षक बनाउन सक्छन् । न साह्रै दुब्लो र न साह्रै मोटो हुने भएकाले शरीरिक व्यायाम गर्दा यस्तो टाइपका शरीर हुनेहरूमा रिजल्ट चाँडै देखिन्छ।
एन्डोमर्फ टाइपका शरीर हुनेहरू मोटा र शरीरमा बोसोको मात्र बढी भएका हुन्छन् । शरीरको फ्रेम ठूलो हुन्छ । तौल पहिला नै बढी हुने भएकाले तौल बढाउने जरुरत पर्दैन । यस्ता शरीर भएकाले निकै मेहनत गरेपछि मात्र शरीर आकर्षक बनाउन सक्छन्।
फिट्नेसका लागि जिम जानेहरूलाई सुरुमै धेरै तौल उचाल्न लगाएर जिम बलियाहरूले मात्रै गर्ने शारीरिक अभ्यास हो भन्ने भ्रम दिने गरिएको छ । जसले गर्दा शरीर फिट बनाउन चाहने धेरै मानिस फिट्नेस सेन्टर तथा जिम सेन्टर जान डराउने गरेका छन् । फिट्नेस सेन्टर ज्वाइन गर्ने जो कोहीलाई पनि सुरुमा वेट ट्रनिङ दिनुपर्छ । कम तौल उठाउन लगाएर बिस्तारै तौल बढाउँदै लैजानुपर्छ । फिजिकल अभ्यास गराउनुपर्छ । जिम भन्नेबित्तिकै एकैचोटि ठूलठूला फलाम उचालेर शारीरिक अभ्यास गर्नुपर्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । यसका लागि फिट्नेसको ज्ञान भएको प्रशिक्षकले सही सल्लाह दिन जरुरी छ।
फिट्नेस भन्नेबित्तिकै सामान्यतयाः हामी सबैले शारीरिक बनावट तन्दुरुस्त राख्ने भन्ने बुझ्छौँ । तर, शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउँछ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्नुपर्छ । । शरीर र मनलाई स्फूर्त राख्ने हामीले शारीरिक व्यायामका लागि केही समय छुट्याउनुपर्ने हुन्छ । हरेक दिन थोरै समय शारीरिक व्यायम गर्दा शरीर, मन र दिमाग स्वस्थ राख्न मद्दत पुग्छ।