हेपाटोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी र थेरापी इन्डोस्कोपी विशेषज्ञ डा. नारायण धरेलले केही वर्षदेखि अमेरिकाको भर्जिनियामा रहेर चिकित्सा सेवा दिइरहेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)बाट एमबीबीएस पूरा गरेका उनले हेपाटाइटिस सीमा जापानबाट पिएचडी गरे। हेपाटाइटिस सीमाथि अनुसन्धान गरे पनि उनलाई क्लिनिकल क्षेत्र नै प्रिय लाग्यो।
अमेरिकाको न्युयोर्कस्थित वाइकफ हाइट्स मेडिकल सेन्टरबाट इन्टर्नल मेडिसिनमा एमडी गरे। त्यसपछि बोस्टनस्थित बेथ इजरेल डियकोनेस एन्ड मासाचुसेट्स जेनरल हस्पिटलमा काम गरे। यसैगरी चार वर्ष हार्भर्ड युनिभर्सिटीको मेडिकल फ्याकल्टीमा रहेर काम गरे।
भर्जिनिया ग्यास्ट्राइन्टेरोलोजीमा फेलोसिप गरेका उनी एडभान्स हेपाटोलोजी छनोट भए। इन्टर्नल मेडिसिन ग्यास्ट्रोइन्टेरोलोजी र एडभान्स हेपाटोलोजीमा बोर्ड प्रमाणित छन् उनी। अमेरिकामा लिभर ट्रान्सप्लान्ट कन्सल्टेन्टका रुपमा समेत काम गरिरहेका छन्। डा धरेलले अमेरिकामा प्रत्यारोपणको अवस्था र नेपालको सम्भावनाका बारेमा स्वास्थ्यखबरसँग कुराकानी गरेका छन् :
हेपाटाइटिस बी र सी, मदिराबाट हुने कलेजोको रोग, सिरोसिस, फ्याटी लिभर डिजिज, बाइल डक्ट डिजिज र वंशाणुगत समस्याका कारण कलेजोले काम गर्न छाडेपछि प्रत्यारोपण जरुरी हुन्छ। प्रत्यारोपण समयमै गर्न सकियो भने ९० प्रतिशत बाँच्छन्। नभएमा ३ देखि ६ महिनाबीचमा बिरामीको मृत्यु हुन्छ।
नेपालमा पनि केही समयअघि शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले कलेजो प्रत्यारोपण सुरु गर्यो भने अहिले शिक्षण अस्पताल सुरु गर्ने अन्तिम तयारीमा छ। नेपालमै उच्चस्तरको उपचार सेवा सुरु हुनु खुशीको कुरा हो।
यो सेवा धेरैलाई नचाहिएला। तर यसले देशकै स्वास्थ्य सेवाको स्तर दर्शाउँछ। दक्षिण एशियाका अधिकांस देशमा सुरु भइसकेको कलेजो प्रत्यारोपण ढिलै भएपनि नेपालमा हुन थालेको छ। यो सुरु हुँदा एउटा नयाँ उपचार सेवा देशमा थपिने मात्रै होइन, समग्र स्वास्थ्य सेवाकै विकासमा सहयोग पुग्छ। आधारभूत स्वास्थ्य सेवाले मात्रै समग्र स्वास्थ्य क्षेत्रको विकास हुँदैन।
कलेजो दाताको अभाव
कलेजो प्राप्त गर्न सहज छैन। मिर्गौला दुईटा हुने भएकाले दिने मान्छे तयार गर्न सहज हुन्छ। तर कलेजो एउटै हुन्छ। त्यसको पनि ६० देखि ७० प्रतिशत काटेर झिक्ने भनेपछि मान्छे डराउँछन् र दिन तयार हुने सम्भावना कम हुन जान्छ।
ब्रेनडेथ भएकाहरुबाट प्राप्त हुने अंगको हिसाब गर्दा पनि मिर्गौला दुईटा पाइन्छ भने कलेजो एउटा। ब्रेनडेथ बारे प्रशस्त चेतना र कसले पाउने भन्ने उपयुक्त प्रणाली नभएका नेपालजस्ता देशमा जिवित दाताबाट कलेजो निकाल्नपर्ने हुन्छ। यसरी जिवित दाताबाट लिँदा उनीहरुको स्वास्थ्यलाई समेत मध्यनजर गरी कलेजो निकाल्नुपर्छ।
नयाँ व्यक्तिबाट ६० देखि ७० प्रतिशत कलेजो ल्याएर हाल्नुपर्छ। त्योभन्दा सानो भयो भने काम गर्ने सम्भावना कम हुन्छ। सकेसम्म मिल्दो उमेर र मान्छेको ज्यानको साइज पनि उत्रै भएको राम्रो मानिन्छ। प्राप्तकर्ता र दाता एउटै रक्त समूहको हुनुपर्छ। दाताको स्वास्थ्य अवस्था फिट हुनुका साथै ५५ वर्ष नकटेको उपयुक्त मानिन्छ।
अमेरिकामा दुई तिहाईले पाउँदैनन् कलेजो
अमेरिकामा भने जिवित दाता पाउन गाह्रो हुन्छ। व्यक्तिकेन्द्रीत समाज भएकाले आफन्तलाई दान गर्न सहज छैन। बिमा, दाताको स्वास्थ्य सुरक्षाजस्ता कुराले पनि दान गर्न निरुत्साहित गर्छन्। त्यसैले अमेरिकामा हरेक वर्ष हुने ५ हजार प्रत्यारोपणमा १० प्रतिशत मात्रै जिवित दाताबाट लिएर गरिन्छन्। बाँकी ९० प्रतिशत ब्रेन डेथबाट प्राप्त कलेजो प्रत्यारोपण भइरहेका छन्।
अमेरिकामा प्रत्यारोपणको लाइनमा बसेका दुई तिहाईमध्ये कलेजो नपाएर कुर्दाकुर्दै वर्सेनि १० प्रतिशत जतिको मृत्यु हुन्छ। हरेक वर्ष १५ हजार लाइनमा हुन्छन् भने ५ हजारको मात्रै प्रत्यारोपण हुन सक्छ। मदिराको सेवनबाट कलेजोमा समस्यामा आएका भने प्रत्यारोपणको प्राथमिकतामा पर्दैनन्। प्रत्यारोपण गर्ने हो भने पनि ६ महिनादेखि मदिराको सेवन पूरै बन्द गरिएको हुनुपर्छ।
कलेजो प्रत्यारोपणका चुनौती
नेपालमा लामो समयदेखि मिर्गौला प्रत्यारोपण भइरहेको छ। एकजनासँग दुईटा हुने र प्रत्यारोपण पनि तुलानात्मक रुपमा सहज भएका कारण मिर्गौला प्रत्यारोपण विश्वमै धेरै भइरहेको हुन्छ। तर, कलेजो प्रत्यारोपण त्यति सहज छैन। शल्यक्रियाकै कुरा गर्ने हो भनेपनि कम्तिमा १२ घन्टा लाग्न सक्छ। कतिपय अवस्थामा यति समयले नपुगेर बीचमै ब्रेक गर्नुपर्ने हुन्छ।
जिवित दाताबाट लिएर प्रत्यारोपण गर्दा सर्जनहरुका दुई समूहले एकसाथ काम गर्नुपर्छ। दुईटा अप्रेशन थिएटर चाहिन्छ। दुवै टिममा प्रत्यारोपणसम्बन्धि जानकार एनेस्थेसिया, रेडियोलोजिस्ट प्रत्यारोपण टिम जरुरी हुन्छ। प्रत्यारोपणपछिको उपचारका लागि पनि क्रिटिकल केयर र ट्रान्सप्लान्ट हेपाटोलोजिष्टलगायत दक्ष जनशक्तिको समूह जरुरी हुन्छ। कहिलेकाहिँ एउटा व्यक्तिको कलेजो अर्कोको शरीरले ‘रिजेक्ट’ गरिदिन्छ। त्यस्तो अवस्थामा तुरुन्तै पुनः प्रत्यारोपणको आवश्यकता पर्न सक्छ । त्यसका लागि अर्को दाता तयार राख्नुपर्छ।
अस्पतालको आफ्नै ब्लड बैंक एवम् एडभान्स प्याथोलोजी, इन्टरभेन्सन रेडियोलोजी लगायतका सेवा आवश्यक पर्छ। कहिलेकाहिँ धेरै रगत बगिदिन्छ। यस्तो अवस्थामा निरन्तर रगत दिनुपर्ने हुन्छ। एकजनालाई एक सय युनिटसम्म ब्लड दिनुपरेका धेरै घटना छन्। राम्रो प्रत्यारोपण समूह, त्यत्तिकै राम्रो तयारी र नियमन भएन भने कलेजो प्रत्यारोपण ‘सुसाइड मिसन’ हुन जान्छ।
नेपालमा सहकार्य जरुरी
नेपालमा विदेशी सर्जन समूहको सहयोगमा दुईटा प्रत्यारोपण भए। तर, त्यो निरन्तर भइरहेको देखिदैन। यसका विभिन्न कारण होलान्। अहिले फेरि शिक्षण अस्पतालले तयारी गरेको छ। शिक्षण अस्पतालले निरन्तर सक्ला भन्ने अपेक्षा गर्न सकिन्छ। किनभने केही पूर्वाधार र प्रणाली पहिलेकै भएकाले सहज हुन्छ।
काठमाडौंमा अहिले छुट्टाछुट्टै दुइटा कलेजो प्रत्यारोपण सेन्टर बनाउन भने जरुरी देखिदैन। प्रत्यारोपणको जोखिम, उचित प्रणालीदेखि उपचार खर्चसम्मका कुराले तुरुन्तै धेरलेै प्रत्यारोपण गराइहाल्दैनन्। नेपालमा कलेजो प्रत्यारोपण गर्ने जनशक्ति कम भएकाले पनि मिलेर गर्दा सहज हुन्छ। प्रत्यारोपणको अन्तर्राष्ट्रिय गाइडलाइनअनुसार २० वटा प्रत्यारोपणमा प्रत्यक्ष सहभागी नभएसम्म स्वतन्त्र रुपमा प्रत्यारोपण गर्न योग्य मानिदैन। त्यसैले २० जनाको अनुभव हासिल गर्न सँगै काम गर्दा उपयुक्त हुन्छ।
शिक्षण अस्पतालमा सुरु गर्न लागेका सर्जन डा रमेश भण्डारीले यससम्बन्धि ज्ञानसीप हासिल गरेका छन्। उनलाई सघाउने अरु दुई डाक्टरलाई हाम्रो संस्था अमेरिका– नेपाल मेडिकल फाउन्डेशनको आर्थिक सहयोगमा अमेरिकामै तालिम लिएर फर्किसकेका छन्। नेपालकै ठूलो स्वास्थ्य संरचना भएकाले कारणले उक्त टिम प्रत्यारोपणमा सफल हुने अपेक्षा गर्न सकिन्छ।
तर, कलेजो प्रत्यारोपणका लागि सरकारले एउटा प्रणालीको विकास गर्न जरुरी छ। जनचेतना फैलाउनुपर्ने देखिन्छ। अमेरिकामा कलेजो प्रत्यारोपणमा नेपाली विशेषज्ञका रुपमा डा रोशन श्रेष्ठ र मैले काम गरिरहेका छौं। हामी विशेषज्ञका रुपमा पनि प्रत्यारोपणका लागि वातावरण सिर्जना गर्ने र प्रत्यारोपणपछिको उपचारमा सहभागी रहन्छौं। त्यसैले नेपाल आएको समयमा यसबारे हामीले अनुभव सुनाउने गरेका छौं। आगामी दिनमा हामीबाट हुनसक्ने सहयोगका लागि तयार रहेको बताएर आएका छौं।
यसैबीच हाम्रो अमेरिका–नेपाल फाउन्डेशनको आर्थिक सहयोगमा शिक्षण अस्पतालका केही डाक्टर अमेरिकामै तालिम लिएर फर्किसकेका छन्।
खुसीको कुरा, केही समयअघि नेपालमा पनि ब्रेन डेथसम्बन्धी कानून आएको छ। यसले अंगदानमा कानूनी जटिलता घटाएको छ। तर, मानवीय दृष्टिकोणलाई पनि परिवर्तन गर्न जरुरी छ।
अंगदानका लागि सचेतना फैलाउनुपर्छ। महत्वपूर्ण कुरा दाताले अंगदान गर्दा सही व्यक्तिले पाउने कुराको ग्यारेन्टी खोज्छ। त्यसका लागि निश्चित प्रणालीको विकास जरुरी हुन्छ। अहिले नेपालमा यसका लागि ‘रजिष्ट्री’ प्रणाली छैन। त्यो नहुँदा ब्रेन डेथ भएर आएकोबाट निकालिएको कलेजो कसले पाउन? भन्ने निश्चित हुँदैन। त्यसैले यस विषयमा पनि स्पष्ट भएर अघि बढ्नु आवश्यक देखिन्छ।