काठमाडौं- आयुर्वेद क्याम्पस कीर्तिपुरमा एन्टी र्यागिङ समितिको निर्माण भएको छ। स्वतन्त्र विद्यार्थी युनियन आयुर्वेद क्याम्पस कीर्तिपुरको पहलमा क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरूलाई हुनसक्ने सम्भावित शाररिक तथा मानसिक दुर्व्यवहार न्यूनीकरण गर्नको लागी एन्टी र्यागिङ समितिको निर्माण गरेको छ।
क्याम्पसमा आयोजित एक कार्यक्रम मार्फत् स्ववियु, शिक्षक, मानव अधिकारवादी संस्था एम्नेष्टि इन्टरनेशनल तथा कीर्तिपुर नगर प्रहरीबाट प्रतिनिधिहरू सम्मेलित एक समितिको निर्माण गरिएको जानकारी स्ववियूका कार्यवहाक अध्यक्ष डा. प्रशान्त बस्नेतले दिए।
'र्यागिङ केवल विकृति मात्र होइन, यो एउटा अपराध हो। र्यागिङबाट उत्पनन हुने मनोवैज्ञानिक समस्याहरूले झन भयाभह अवस्थाको सृजना गर्न सक्छ। त्यसैले यो विकृतिलाई समयमा नै क्याम्पसदेखी फाल्नु आवश्यक छ,' उनले भने।
यो एन्टी र्यागिङ समिति नेपालमा नै प्रथम पटक अभ्यास गरिएको उनको दावी छ। नेपालमा थुप्रै मेडिकल कलेजहरूमा रयागिङ हुने भएता पनि यसलाई रोकथाम गर्न कुनै उपाय चालिएको देखिदैन।
त्यसैगरी स्ववियूले क्याम्पसका विद्यार्थीहरूको लागी नि:शुल्क अनलाईन मनोवैज्ञानिक परामर्श सेवाको समेत सुचारु गरेको छ। मनोवैज्ञानिक सल्लाहकार कृपा सिग्देलले विद्यार्थीहरूलाई ईमेल मार्फत् नि:शुल्क मनोवैज्ञानिक परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको छ।