अत्तरिया- डडेल्धुरा बस दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले ब्यहोर्ने भएको छ।
दुर्घटनामा घाइते भएकालाई भेट्न आज सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बस दुर्घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने घोषणा गरे।
सो अवसरमा उनले उपचारमा कुनै कमी नगर्न चिकित्सकलाई निर्देशन पनि दिए।
मुख्यमन्त्री भट्टसँगै घाइतेलाई भेट्न सो प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पनि अस्पताल पुगेका थिए। केआइसिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए। रासस