चितवन- चितवनको सौराहामा देशभरका न्यूरोसर्जन डाक्टरहरुको भेला सम्पन्न भएको छ। न्यूरो सर्जरी र स्पाइनल सर्जरीसँग सम्बन्धित डाक्टरहरुको सो भेलामा ८० भन्दा बढी उपस्थित थिए।
भेलाकाे मुख्य उद्देश्य उपचार पद्दतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदान गर्ने थियो।
कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका न्यूरो सर्जरी डिपार्ट प्रमुख वरिष्ठ न्यूरोसर्जन डा. बिनोद भट्टराईले उपचारमा आएको नयाँ - नयाँ प्रविधिहरुको विकास र उपचारका क्रममा भएका आ–आफ्ना अनुभव साटासाट गर्न यसप्रकारका कार्यक्रम राखिएको बताए।
न्यूरो सर्जरी डिपार्ट, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पूरानो मेडिकल कलेज) भरतपुरको आयोजनामा सौराहामा शुक्रबार साँझ भएको कार्यक्रममा सो अस्पतालका वरिष्ठ न्यूरोसर्जन डा. सोमराज लामिछानेले मेरुदण्ड र न्यूरो सर्जरीको सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए।
विभिन्न चोटपटकबाट हुन सक्ने टाउको र मेरुदण्डको समस्या, जन्मजात समस्या, टाउकोको ट्युमरको उपचारको सन्दर्भमा उनले आफ्नो अनुभव बताएका थिए। साथै उनले हाल प्रविधिमा भएको विकास र अनुभवको साटासाटले जटिल भनिएको न्यूरो र मेरुदण्डको सर्जरीमा थप सहयोग मिल्ने समेत बताए।
कार्यक्रममा क्रिम्सन हस्पिटल बुटवलका वरिष्ठ न्यूरोसर्जन डा. के आई सिंह केसी, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका रेडियोलोजी विभाग प्रमुख वरिष्ठ डा. हरि रानाले पनि कार्यपत्र सहित आ–आफ्ना भनाइहरु राखेका थिए।
सो अवसरमा अन्नपूर्ण न्यूरो हस्पिटल काठमाडौंका वरिष्ठ न्यूरोसर्जन डा. वसन्त पन्त, त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्ज काठमाडौंका वरिष्ठ न्यूरोसर्जन डा. गोपाल सेढाईले पनि आ–आफ्ना अनुभव र प्रविधिको विषयमा मन्तव्य व्यक्त गरेका थिए।
देशभरका न्यूरोसर्जनहरुको संस्था नेशनल सोसाइटी अफ न्यूरोसर्जनमा आवद्ध डाक्टरहरुको सहभागिता रहेको कार्यक्रममा उनीहरुले आ–आफ्नो अनुभवहरु साटासाट गर्न पाउँदा र नयाँ पुस्ताका डाक्टर एवम् यसै विषयमा अध्ययनरत विद्यार्थीहरुले अनुभव साटासाट गर्दा न्यूरो सर्जरी र मेरुदण्ड सर्जरीको उपचारमा थप सहज हुने समेत सहभागीहरुको भनाइ रहेको थियो।