बाँके - बाँके जति सुगम जिल्लाका रुपमा चिनिन्छ त्यत्तिकै दुर्गम पनि छ। बाँकेको सबैभन्दा दुर्गम क्षेत्र राप्तीपारि विकासका हिसाबले समेत पछाडि परेको छ। सबै क्षेत्रबाट पछाडि परेको राप्तीपारिका स्वास्थ्य समस्या पनि उस्तै छ।
पुरुषको तुलनामा सूचना, आर्थिक स्रोत र परिवारको निर्णायक तहमा महिलाको पर्याप्त पहुँच नहुँदा त्यस क्षेत्रका महिला स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेका छन्। सबैभन्दा बढी त्यस क्षेत्रका महिलालाई अन्य स्वास्थ्य समस्याभन्दा प्रजनन् स्वास्थ्य समस्याले बढी गाँजेको पाइएको छ।
केही सुधारोन्मुख रहेको त्यस क्षेत्रको स्वास्थ्य सेवाले केही राहत भए पनि त्यहाँका महिलाले प्रजनन् स्वास्थ्यमा भोग्दै आएको समस्यामध्ये पाठेघर (आङ) खस्ने समस्या सबैभन्दा बढी छ। कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै विवाह गर्नु र असुरक्षित रूपमा सुत्केरी गराउनुले पनि महिलामा पाठेघर समस्या जटिल हुँदै गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
आङ खस्ने समस्याबाट पीडित राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरकी ३२ वर्षीया लक्ष्मी चौधरीले दिनभर काममा खटिनुपर्दा समयमा खानपिनमा ध्यान दिन नसक्नुले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न नसकिएको अनुभव सुनाइन्। उपचारका लागि आउने महिलामध्ये अधिकांश महिलामा आङ खस्ने समस्या देखिनुले पनि प्रजनन् स्वास्थ्यभित्र पाठेघरको समस्या अधिक रहेको देखिन्छ।
'शिविर, स्वास्थ्यचौकी र अस्पतालमा उपचारका लागि आउने महिलामध्ये एक चौथाई महिलाको पाठेघर जटिल अवस्थामा पुगिसकेको हुन्छ, उनीहरुको शल्यक्रिया गर्नुबाहेक अन्य उपचार सम्भव नै हुँदैन', जनस्वास्थ्य कार्यालयका सामाजिक स्वास्थ्य शाखा प्रमुख सरिता चन्दले भनिन्। बाँकेका राप्तीपारि मात्र नभई ग्रामीण क्षेत्रहरु गनापुर, साइगाउँ, नौबस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेनाका दलित, मधेसी र सीमान्तकृत समुदायका महिला आङ खस्ने समस्याबाट पीडित रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
कम उमेरमा विवाह गरेका, असुरक्षितरूपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको तथ्याङकले देखाएको छ। पाठेघरपछि महिलाले भोग्नुपर्ने अर्को समस्यामध्ये गर्भावस्था तथा सुत्केरी अवस्था पनि हो। यो समस्याबाट शहरभन्दा गाउँका महिला नै अधिक पीडित हुने गरेका छन्।
६ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका रहेको बाँके जिल्लामा बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमार्पmत जिल्ला जनस्वास्थ्य कार्यालयले गर्भवती, सुत्केरी तथा शिशुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आए पनि ग्रामीण क्षेत्रमा सडक यातायातको अभाव, बजेटको अपर्याप्ततालगायतका कारण स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ। रासस